निर्वाचन सुरक्षामा सेना सहित तीन घेरे सुरक्षा रणनीति :२ लाख २६ हजार सुरक्षाकर्मी खटिने

  • १८ फाल्गुन २०७३, बुधबार
  • 1947 पटक पढिएको

d44

काठमाडौं, १८ फागुन । स्थानीय तह निर्वाचनका लागि सुरक्षाको प्रत्याभुति कतिको हुन्छ ? निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवले गृहमन्त्री बिमलेन्द्र निधिलाई निर्वाचन सुरक्षाबारे प्रश्न सोधे लगत्तै निधिले भने’सुरक्षा व्यवस्था कडा बनाइने छ।’

बुधवार आयोग कार्यालयमा भएको छलफलमा निधिले चारवटै सुरक्षा निकायको समन्वयमा निर्वाचनको लागि बिषेश सुरक्षा योजना बनाइने बताए।

सरकारले निर्वाचन मिति तोके लगत्तै मन्त्रालयले आफु मातहतको नेपाल प्रहरी,शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीसँगै नेपाली सेनासँग समेत छलफल गरिसकेको छ।

सेनाले आफ्नो हेडक्वाटरमा बोलाएर चुनावी सुरक्षाबारे गृह मातहतका निकायसँग छलफल गरेको थियो। ती छलफलमा मधेस केन्द्रित सुरक्षा योजना बनाउने, निर्वाचनको विपक्षमा रहेका शक्तिको बर्गिकरण गरी हार्ड र सफ्ट निगरानी राख्ने लगायतका प्रारम्भिक तयारी भइसकेको छ।
आयोगको कार्यक्रममा निधिले निर्वाचनका लागि २१ हजार बुथ राख्ने भएकाले त्यही अनुसार २ लाख २६ हजार सुरक्षाकर्मी परिचाल गर्ने तयारी भएको बताए।

दोस्रो संविधान सभा निर्वाचनमा सरकारले एक लाख ८० हजार सुरक्षा जनशक्ति परिचालन गरेको थियो जसमा ४० हजार म्यादी प्रहरी थिए।
गृहले हरेक निर्वाचनका लागि बनाउने सुरक्षा रणनीतिमा तीन घेराको मोडल अपनाएर अतिसंवेदनशिल, संवेदनशिल र सामान्य क्षेत्र तोक्ने गरेको छ।

निर्वाचनको कोर क्षेत्रमा नेपाल प्रहरी, सहयोगी सशस्त्र प्रहरी र बाहिरी सुरक्षामा नेपाली सेना खटिने गरेका छन्। स्थानीय तह निर्वाचनका लागि समेत गृहले यही सुरक्षा रणनीति बनाएको छ।

कार्यक्रममा उनले निर्वाचन सुरक्षाका लागि आवश्यकता अनुसार म्यादी प्रहरी समेत परिचाल गर्ने बताए। निर्वाचन क्षेत्र अनुसार सामान्य, संवेदनशिल र अतिसंवेदनशिल क्षेत्र छुट्याएर सुरक्षा रणनिति बनाएको उनले जानकारी दिए ।

-पहिलो पोष्ट