मोना सम्मेलनद्धारा समृद्ध म्याग्दीको लागि लगानी भित्र्याउने प्रस्ताब पारित

  • २५ आश्विन २०७४, बुधबार
  • 2655 पटक पढिएको

म्याग्दी, २५ असोज । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रिको दोस्रो महाधिवेशन तथा विश्व सम्मेलन समृद्ध म्याग्दीका लागी लगानी भित्र्याउने प्रस्ताब परित गर्दै सकिएको छ । जिल्लाको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा तीन दिनसम्म सञ्चालन भएको महाधिबेशनले म्याग्दीको सामाजिक विकासमा सहयोगी भूमिका निर्वाह गर्दै जिल्लाको समृद्धिको यात्रामा सहकार्य गर्ने प्रस्ताब पारित गरेको हो ।

मोनाले जिल्लाको १ नगरपालिका र ५ गाउँपालिकासंग समन्वय गरि जलविद्यूत, पर्यटन, कृषि, जडीबुटी खेती, स्वरोजगार, पशुपालन, खनिज उत्खनन् लगायतका क्षेत्रहरुलाई प्राथमिकरण गर्दै लगानी जुटाउने निर्णय गरेको मोनाका नवनिर्वाचित अध्यक्ष चक्र थापाले जानकारी दिनुभयो ।

मोनाले जिल्लामा विद्यमान सामाजिक समस्याको रुपमा रहेको बालविवाह, बाल यौन हिंसा जस्ता समस्या विरुद्ध अभियान चलाउनको लागि अक्षयकोष निर्माण गर्ने, भैपरि आउने समस्याहरुमा प्रवासबाट भित्रने सहयोगलाई एकद्धारा प्रणाली मार्फत अगाडी बढ्ने, जिल्लालाई विकास र समृद्धिको दृष्टिकोणमा नेपालकै नमुना जिल्लाको रुपमा विकास गर्न स्थानीय सरकारसंग सहकार्य गर्ने जस्ता महत्तोकांक्षी योजनाहरुलाई समेत अगाडी सारेको छ ।

मोनाले महाधिवेशनबाट दरबाङलाई म्याग्दी नदीको कटानबाट रोक्न आर्थिक संकलन गर्ने, प्रवासमा रहेका म्याग्देलिहरुलाई आफ्नो भाषा, संस्कृति, परम्परा र शिप हस्तान्तरणको लागि कम्तीमा बर्षमा एक पटक आफ्नो गाउँ फर्किएर श्रमदान गर्ने कार्यको थालनी गर्ने, जिल्लाको कला, संस्कृति संरक्षण र प्रवद्र्धनको लागि सहयोग गर्ने जस्ता योजनाहरुलाई समेत पारित गरेको छ ।