उम्मेदवारहरु सार्वजनिक गर्न काँग्रेसद्धारा आयोजित पत्रकार सम्मेलन बिचैमा किन रोकियो ?
- १९ आश्विन २०७४, बिहीबार
- 3975 पटक पढिएको
म्याग्दी १९ असोज ।नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्य समितिको बैठकले आसन्न संघ र प्रदेश सभाको निर्वाचनको लागी टुंगो लगाएको उम्मेदवारहरुको सार्वजनिकरणको लागि आयोजित पत्रकार सम्मेलन बिचैमा रोकिएको छ । पार्टीको केन्द्रिय समितिमा संघ र प्रदेश सभाको लागि जिल्लाबाट उम्मेदवार सिफारिसको सुचिमा परेकाहरुको नामावली सार्वजनिक गर्न विहिवार बेनीमा आयोजित पत्रकार सम्मेलन उम्मेदवारहरुको नामावली सार्वजनिक नगरिकनै बिचैमा स्थगित गरिएको हो ।
पार्टी सभापती खमवीर गर्वुजाको अध्यक्षतामा भएको कोजाग्रत पूर्णिमाको अबसरमा चियापान तथा पत्रकार सम्मेलनमा मन्तव्य राख्ने क्रममा क्रममा प्रदेशतर्फ २ नम्बर निर्वाचन क्षेत्रको प्रत्येक्ष उम्मेदवारको रुपमा सिफारिसमा परेका खिमबहादुर पुर्जाले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए ।
काँग्रेस जिल्ला कार्य समिति बैठकले पुर्जा र क्याप्टेन अमलाल फगामीलाई प्रदेशतर्फ २ नम्बर निर्वाचन क्षेत्रबाट पत्येक्षतर्फको सम्भावित उम्मेदवारको रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो । शुभकामना मन्तव्य राख्ने क्रममा प्रदेशतर्फ २ नम्बर क्षेत्रमा प्रत्येक्ष तर्फका उम्मेदवारको सुचिमा परेका पुर्जाले सर्वसम्मत रुपमा एउटा मात्रै उम्मेदवार बनाएर पार्टीलाई बलियो बनाउने र कार्यकर्ता माझ सकरात्मक सन्देश प्रवाहको लागि आफुले अर्का उम्मेदवार फगामीलाई सहयोग गर्ने गरि उम्मेदवारको आकांक्षीबाट नाम फिर्ता लिने घोषणा गरेका थिए ।
पुर्जाको उम्मेदवार रिफारिसको सुचिबाट नाम फिर्ता लिने घोषणा संगै कार्यक्रममा उपलब्ध काँग्रेस म्याग्दीका नेताहरुले पार्टीमा थप छलफल आबश्यक रहेको भन्दै पत्रकार सम्मेलनलाई बिचैमा स्थगित गरेका थिए । स्रोतका अनुसार काँग्रेसले १ नम्बर निर्वाचन क्षेत्र र संघतर्फ पनि सर्वसम्मत रुपमै एक÷एक जना उम्मेदवारहरुको नाम टुंगो लगाएर सिफारिस गर्ने तयारी गर्ने बुझिएको छ । काँग्रेस म्याग्दीका एक नेताका अनुसार, बुधवारको जिल्ला कार्य समितिको बैठकले संघमा प्रत्येक्षतर्फ खमवीर गर्वुजा र अमृतमान शेरचनलाई उम्मेदवार रिफारिस गर्ने निर्णय गरेको थियो ।
त्यसैगरि प्रदेशतर्फ १ नम्बर निर्वाचन क्षेत्रमा प्रत्येक्ष उम्मेदवारमा रेशमबहादुर बानीयाँ, नेत्रबहादुर महत र कर्णबहादुर भण्डारी (केवी) र २ नम्बर निर्वाचन क्षेत्रबाट अमलाल फगामी र खिमबहादुर पुर्जालाई सिफारिस गर्ने निर्णय गरेको थियो । प्रदेशतर्फ २ नम्बर निर्वाचन क्षेत्रको उम्मेदवार सर्वसम्मत गराउने भन्दै पुर्जाले आफ्नो नाम फिर्ता लिने घोषणा पछि थप छलफलको लागि अहिले काँग्रेस म्याग्दीका नेताहरुको बैठक जारी छ ।