अपडेटः कागबेनीमा बस दुर्घटना तीनको मृत्यु, २० जना घाईते
- १७ आश्विन २०७४, मंगलवार
- राकेश शर्मा
- 3614 पटक पढिएको
जोमसोम (मुस्ताङ) १७ असोज । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मँगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरि फर्कदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा विराटनगर–८का गणेश सुवेदी, सवारीचालक बागलुङका खेमबहादुर बुढामगर र किर्तिपुर–१२ का शर्मिला दुलालको घटनास्थलमै ज्यान गएको मुस्ताङका प्रहरी नायब उपरिक्षक रामहरी पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार, दुर्घटनामा घाईते २० जना मध्ये ६ जनाको अवस्था गम्भिर देखिएको छ ।
‘घाईते सबैको जिल्ला अस्पताल मुस्ताङमा उपचार भइरहेको छ । गम्भिर भएकाहरुलाई भौगोलिक अवस्थाका कारण तत्काल अन्यत्र पठाउनसक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘बुधबार बिहान मात्रै रिफरको काम हुन्छ ।’ दशंै बिदा मनाउन मुक्तिनाथ दर्शन र कागबेनीमा स्नानका लागि आएका तीर्थयात्रीहरु घाईते भएको प्रहरीले जनाएको छ । प्रहरी निरिक्षक अर्जुनबहादुर ढकालका अनुसार बस बे्रक फेल हुँदा दुर्घटना भएको हो ।
सोही स्थानमा दुई महिना अघि दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो । ‘यसभन्दा अघि दुर्घटना भएको ठाउँमै दुर्घटना भएको छ । घाइतेहरु विभिन्न जिल्लाका छन्’, उहाँले भन्नुभयो । घाइतेका आफन्तजनले तत्काल सुविधासम्पन्न अस्पतालमा रिफर गर्न आग्रह गरेपनि जीर्ण बेनी–जोमसोम सडक र रातको समयमा हवाई उडान संभव नभएका कारण जिल्ला अस्पतालमै राखेर उपचार गर्नुपरेको प्रहरीले जनाएको छ ।