धौलागिरि क्षेत्रकै सर्वाधिक पुरस्कार राशीको वौद्ध कपको उपाधी आयोजकलाई (फोटो फिचर)

  • ५ आश्विन २०७४, बिहीबार
  • 3738 पटक पढिएको

म्याग्दी, ५ असोज । म्याग्दी सदरमुकाम बेनीमा बिहीबार सम्पन्न धौलागिरि क्षेत्रमै सर्वाधीक पुरस्कार राशी रहेको तेस्रो वौद्ध कप फुटवल –२०७४ को उपाधी आयोजक वौद्ध युवा कल्व मंगलाघाटले जितेको छ । बेनी स्थित खुलामञ्चमा भएको फाईनल खेलमा कालीपुल युनाईटेड कल्वलाई शून्यका विरुद्ध तीन गोल गर्दै आयोजक बौद्ध युवा क्लबले उपाधी चुमेको हो ।

फाईनल खेलको पहिलो हाफमै तीन गोल गरेको वौद्धलाई दोस्रो हाफमा दवाबमा पारेको कालीपुलले उत्कृष्ट खेल प्रदर्शन गरेपनि गोल गर्न भने सकेन् ।

प्रतियोगितामा बिजेता बौद्ध र उपबिजेता कालिपुलले क्रमशः ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु १ लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार प्राप्त गरेका छन् । सेमिफाईनलबाट बाहिरीएका एभरग्रिन र म्याग्दी प्रहरीले १५÷१५ हजार रुपैया प्राप्त गरेका छन् । म्याग्दी प्रहरीले अनुशासीत टिमको उपाधी सहित थप १० हजार रुपैया पनि पाएको छ ।

त्यस्सैगरि प्रतियोगितामा कालीपुलका रोमन श्रेष्ठ सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी, वौद्धका बिजय सिङ उत्कृष्ट डिफेण्डर, वौद्धका बिमल थापा उत्कृष्ट गोलरक्षक, कालीपुलका किरन भट्टराई उत्कृष्ट मिडफिल्डर र वौद्धका टोप बिष्ट उत्कृष्ट स्ट्राईकरको उपाधी सहित जनही नगद छ हजार रुपैयाका दरले पुरस्कृत भए भने वौद्धका लाल म्यान अफ द म्याच घोषीत भए ।

वौद्ध युवा कल्वका अध्यक्ष बिजय किसानको अध्यक्षता र पुर्व सचिव श्यामसुन्दर कडेलको सञ्चालनमा भएको समापन कार्यक्रममा फाइनल खेलको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले गर्नुभएको थियो । प्रतियोगितामा बिजेता खेलाडीहरुलाई म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रमोद श्रेष्ठ, संघका महासचिब राजेश शाक्य ,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्मा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सेमीफाईनलमा एभरग्रिन युवा कल्व न्युरोडसंग भिडेको वौद्ध एभरग्रिन मैदानबाट बाहिरीएपछि स्वत फाईनलमा पुगेको थियो । रेफ्रिले एभरग्रिनका खेलाडी दुई पटक पँहेलो र एक पटक रातो कार्ड देखाएपछि उत्पन्न बिवादका कारण एभरग्रीनका खेलाडी मैदानबाट बाहीरिएको थिए । बिवाद अघिसम्म दुवै तर्फबाट एक एक गोल भएको थियो ।

कालीपुल युनाईडेटले सेमीफाईनलमा म्याग्दी प्रहरीलाई शून्यका विरुद्ध एक गोल गर्दै फाईनलमा पुगेको थियो । दसै पर्वको अवसरमा वौद्ध युवा कल्वको आयोजना र मंगला आमा समूहको सहआयोजनामा असोज १ गतेदेखि सुरु भएको प्रतियोगितामा २४ टिमले सहभागीता जनाएका थिए ।