पात्लेखेतको विपद् तथा राहत व्यवस्थापन कोषमा बेलायतबाट साढे तिन लाख

  • २ आश्विन २०७४, सोमबार
  • सन्तोष गौतम
  • 1885 पटक पढिएको

 

म्याग्दी २ असोज । बेनी नगरपालीका १० पात्लेखेतमा विपद् तथा राहत व्यवस्थापन कोष स्थापना गरिएको छ । प्राकृतिक बिपद्बाट प्रभावित पात्लेखेतका बासिन्दालाई सघाउन वडा कार्यालयको पहलमा कोष स्थापना भएको हो । पहिरो, आगोलागी लगायत भैपरी आउने विपद्बाट प्रभावित हुने स्थानीय बासिन्दालाई तत्कालै सहयोग गर्ने उद्देश्यले कोष स्थापना गरिएको वडा अध्यक्ष रिम रोकाले जानकारी दिनुभयो ।

अध्यक्ष रोकाका गत साउन महिनामा स्थापना भएको उक्त कोषमा नागरीक स्तरबाट पाँच लाख रुपैया जुटीसकेको छ । यसैक्रममा सोमबार बेलायतमा रहेका पात्लेखेत वाखेतका ओम रोकाको संयोजनमा संकलित तिन लाख ५५ हजार ७२५ रुपैया कोषमा जम्मा गरिएको छ । बेलायतमा बस्ने पात्लेखेतका बासिन्दाको प्रतिनिधित्व गर्दै रामबहादुर राम्जालीले वडा अध्यक्ष रोकालाई उक्त रकम हस्तान्तरण गर्नुभएको थियो । वडाका जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधी र वडा सचिव तिलक पौडेलको उपस्थितीमा भएको कार्यक्रममा रकम हस्तान्तरण गरिएको थियो ।

यस अघि स्थानीय व्यक्ति र प्रवासीहरुबाट डेढ लाख रुपैया भन्दा बढी सहयोग जुटिसकेको छ । कोषमा रकम अझै बढाउने लक्ष्य रहेको छ । पात्लेखेत म्याग्दीमा पहिरोको उच्च जोखिममा रहेको बस्तीको सुचिमा अगाडी छ । बस्ती तल रहेको बान्द्रेखाल्टी पहिरोका कारण पात्लेखेत गाउँ जोखिममा परेको हो । गत साउनमा सो वडामा पहिरोका कारण ४ वटा घर भत्कीएको थियो । ५० भन्दा बढी घर पहिरोको उच्च जोखिममा छन् ।

 

 

सन्तोष गौतम