थापाद्धारा शान्ति कोषलाई एक लाख सहयोग

  • १ आश्विन २०७४, आईतवार
  • 4011 पटक पढिएको

 

म्याग्दी १ असोज । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई बहराईनका निर्वतमान अध्यक्ष तेजेन्द्र थापाले आईतबार एक लाख रुपैया भन्दा बढी नगद सहयोग गर्नुभएको छ ।

गरिव तथा विपन्नलाई उपचारका लागि सघाउने उद्देश्यले एक करोड पचास लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने अभियानका क्रममा म्याग्दी उद्धार समिति बहराईनका पुर्व अध्यक्ष तेजेन्द्र थापाले सो रकम सहयोग गर्नुभएको हो । बेनीमा आयोजित कार्यक्रममा तेजेन्द्र र उहाँकी श्रीमती बिष्णु थापाले कोषका अध्यक्ष राजेश शाक्यलाई एक लाख एक हजार ५०० रुपैया हस्तान्तरण गर्नुभएको थियो । सोही अवसरमा थापाले नेपाल पत्रकार महासंघको संस्थागत विकासका लागि उपाध्यक्ष ठाकुरप्रसाद आचार्यलाई दुई हजार रुपैया उपलब्ध गराउनुभएको थियो ।

ओमकुमारी शान्ति कोषको परोपकारी कार्यबाट प्रभावित भएर सहयोग गरेको थापाले बताउनुभयो । थापाको कार्यकालमा बहराईनमा आयोजित कार्यक्रम मार्फत ओमकुमारी शान्ति कोषका लागि नौ लाख रुपैया सहयोग प्राप्त भएको छ भने थप ८ लाख रुपैया भन्दा बढी संकलनको क्रममा रहेको छ ।

कोषका अध्यक्ष शाक्यले डेढ करोडको अक्षयकोष स्थापना गर्ने अभियान २०७५ भित्र सम्पन्न गर्ने गरी अभियान तिब्र बनाइएको बताउनुभयो । स्वदेश तथा बिदेशमा रहेका संस्था र व्यक्तिहरुबाट डेढ करोडको अक्षयकोषका लागि करिब आधा रकम संकलन भएको कोषले जनाएको छ । पाँच सय जना भन्दा बढीले पाँच हजार पाँच सय रुपैया सहयोग गरेर आजिवन सदस्यता लिएका छन् । संरक्षक सदस्यता लिन व्यक्तिले दुई लाख र संस्थाले तिन लाख रुपैया भन्दा बढी सहयोग गर्नुपर्ने व्यवस्था छ ।

हाईपोपलास्टिक एनिमीया रोगले थलीएकी बेनपा ४ की ओमकुमारी शान्ति कोषको उपचारका लागि संकलन भएर बचत भएको रकम उनको मृत्यु पश्चात कोष स्थापना गरिएको थियो । कोष मार्फत ४० जना भन्दा बढी जटिल रोगका बिरामीहरुको उपचारका लागि हालसम्म पचहत्तर लाख रुपैया भन्दा बढी सहयोग जुटाएर उपलब्ध गराइएको छ ।