बेनीमा आजदेखि बौद्ध कप फुटवल सुरु हुँदै

  • १ आश्विन २०७४, आईतवार
  • 2098 पटक पढिएको

म्याग्दी, १ असोज । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि बौद्ध कप फुटबल प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक बौद्ध युवा क्लब मँगलाघाटले जनाएको छ । धवलागिरि अञ्चलको सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिताको उद्घाटन म्याग्दी उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष प्रमोद श्रेष्ठले गर्ने भएका छन् ।

प्रतियोगिताका लागि खुल्लामञ्च झकिझकाउ बनाईएको छ । प्रतियोगितामा २५ भन्दा बढी टिमले सहभागिता जनाएको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष बिजय किसानले प्रतियोगितामा राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिइसकेका खेलाडीहरु समावेश भएको बताए । उनले खेललाई भव्य रुपमा सम्पन्न गर्न सबैमा आग्रह समेत गरे ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित एक लाख २५ हजार र सत्तरी हजार रुपैया पुरस्कार दिइने खेल संयोजक कृष्ण श्रेष्ठले बताए । सेमिफाईनलबाट बाहिरीने टिमलाई पन्ध्र हजार र अनुशाशित टिमलाई दश हजार रुपैयाँको व्यवस्था गरिएको छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राईकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डरलाई छ÷छ हजार नगद सहित प्रदानपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता सञ्चालन गर्न ३० लाख २२ हजार रुपैया आम्दानी र २५ लाख ६५ हजार रुपैया खर्च हुने अनुमान गरिएको छ । बौद्ध युवा क्लबले खेलकुद प्रतियोगिता सञ्चालनसंगै, सार्वजनीक स्थलको सरसफाई, वृक्षारोपण, रक्तदान, दुब्र्यसनी न्युनीकरण र कला संस्कृती संरक्षण सम्बन्धि कार्यक्रम गर्दै आएको छ । दसै सुरु हुनपूर्व बेनीका विभिन्न क्लबहरुले पालैपालो प्रतियोगिता सञ्चालन गर्ने परम्परा अनुसार बौद्ध युवा क्लबले तेस्रो संस्करण सञ्चालन गर्न लागेको हो ।