पर्वत बेनीदेखि माझफाँट जोड्ने सडक बनेपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटियो

  • ३१ भाद्र २०७४, शनिबार
  • 4031 पटक पढिएको

म्याग्दी, ३१ भदौ । पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने पर्वत वेनी बजार जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ । विसं २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प्रयोगमा आउन सकेको थिएन । जलजला गाउँपालिका–१, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दाले बेनी आवत–जावतका लागि मल्लाज–मिलनचोक–बेनीको घुमाउरो सडक प्रयोग गर्दै आएका थिए ।

बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको यात्रा अवधि तीस मिनेटमा छोटिएको जलजला–३ का वडा सदस्य शशी आचार्यले बताउनुभयो । जिल्ला फरक भए पनि पर्वतको माझफाँट, बाँसखर्क, लेकफाँटका बासिन्दा नजिक पर्ने भएकाले प्रशासनिकबाहेक सबै कामका लागि म्याग्दीको बेनीमा निर्भर छन् । सडक घुमाउरो भएकाले धेरैजसो मल्लाजका बासिन्दा बेनी मल्लाज यात्रा पैदलबाटै गर्दै आएका छन् । सडकबाट स्थानीय बासिन्दाले प्रभावकारी सुविधा पाउन सकेका थिएनन् ।

यो सडक सञ्चालन भएपछि गाडी चढेर यात्रा गर्ने मल्लाजवासीको वर्षौंदेखिको सपना पूरा भएको छ । सडक डिभिजन कार्यालय बागलुङले विसं २०७२ मा शुरु गरेको बेनी–मल्लाज–शालिजा सडक आयोजनामार्फत पर्वत बेनीदेखि मल्लाजसम्मको चार किलोमिटर दूरीको सडक स्तरवृद्धि गरिएको हो । रु तीन करोड ७७ लाखमा ठेक्का सम्झौता गरेको बिएन थोडुङ कन्सट्रक्सन जेभीले सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण, ग्याबियन पर्खाल र पक्की पर्खाल बनाउने तथा आरसिसी ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्वाचित सांसदले आफ्नो क्षेत्रमा रु पाँच करोडसम्मको एउटा आयोजना सञ्चालनका लागि सिफारिस गर्न पाउने व्यवस्थाअनुसार पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले उक्त आयोजनालाई सिफारिस गर्नुभएको थियो । हाल ट्र्याक्टर, जिप र मोटरसाइकल आवत–जावत गर्ने उक्त सडकको माइनडाँडा क्षेत्रमा ग्राभेल गरेर दशँैअघि नै नियमित सवारी सञ्चालन गर्न पहल गरिएको जलजला–३ का वडाध्यक्ष रवि भण्डारीले बताउनुभयो । उहाँका अनुसार उक्त सडक कालोपत्रका लागि सडक विभागले थप आयोजना सञ्चालनको तयारी गरेको छ । बेनी मल्लाज सडकबाट मल्लाज क्षेत्रमा उत्पादित तरकारी, दूध, आलु, सुन्तलालगायत कृषि उपज बजार पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ ।