प्रहरीको अभियानमा म्याग्देलीको सक्रियताबाट उत्साहित छुः एआइजी बम
- २७ भाद्र २०७४, मंगलवार
- 2507 पटक पढिएको
म्याग्दी, २७ भदौँ । ४ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक(एआइजी) कमलसिंह बमले म्याग्दी जिल्लामा अपराधिक घटना न्यूनिकरणमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताए । अपराधिक घटना न्यूनिकरण गर्न प्रहरीलाई समुदायबाट निरन्तर सहयोगको आवश्यकता रहेको बताए । सोमबार जिल्ला प्रहरी कार्यालयको निरिक्षणमा आएका एआइजी बमले बेनीबजारको सुरक्षाका लागि समुदायको सहयोगमा जडान गरिएका सिसी क्यामेराले अपराधिक घटना न्यूनिकरणमा ठुलो भूमिका खेलेको बताउँदै यसलाई मर्मतसम्भार गर्ने कोषको स्थापनामा समेत जुट्न अनुरोध गरे ।
‘जनताको सहभागितामा अपराधिक घटना न्यूनिकरणमा गर्न गर्नुभएको पहलबाट उत्साहित छु । राज्यको बजेटबाट मात्रै शान्ति सुरक्षा स्थापना गर्न सकिदैन’ उनले भने । ४ नम्बर प्रदेशलाई शान्ति सुरक्षाको दृष्टिकोणले देशकै नमुना प्रदेश बनाउन बर्दी विनाको प्रहरी अर्थात जनताको सहयोग आवश्यकता रहेको बताउँदै प्रहरीका जनता लक्षित कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए । उनले जनप्र्रतिनिधि विहिन अवस्थामा ग्रामिण क्षेत्रमा घट्ने अपराधिक घटनाहरू स्थानीय निकायको निर्वाचन लगत्तै न्यूनिकरण हुने अपेक्षा ब्यक्त गरे । ‘गाउँमै अपराधिक घटना घट्नबाट जनप्रतिनिधिबाट समेत ठुलो सहयोग हुने छ । प्रहरीको संरचना समेत गाउँपालिकास्तरको बन्दैछ’ उनले भने ।
प्रनाउ बसुन्धरा खड्काले जिल्लामा भइरहेका अपराधिक घटना तथा आगामी योजनाका बारेमा समेत भ्रमणको क्रममा एआइजी बमलाई जानकारी गराउनुभएको थियो ।