दसैँलाई मुस्ताङबाट २० हजार भेडाच्याङग्रा ल्याईदै
- २२ भाद्र २०७४, बिहीबार
- 4492 पटक पढिएको
म्याग्दी, २२ भदौ । दशैतिहारलाई लक्षित गरि हिमाली जिल्ला मुस्ताङबाट यसबर्ष २० हजार भन्दा बढी भेडाच्याङग्रा ल्याईने भएको छ । भदौ १५ देखि उपल्लो मुस्ताङका सीमा क्षेत्रका स्थानीय र तिब्बतका व्यापारी बीच कोरलानाका क्षेत्रमा अन्तरदेशीय व्यापार मेला जारी छ । मेलामा दशैतिहारलाई लक्षित भेडा खरिदबिक्री भइरहेको छ । व्यापारमेला र नेपाली किसानहरुबाट गरि नेपाली व्यापारीले १५ हजारको हाराहारीमा भेडा खरिद गर्ने अनुमान गरिएकोे जिल्ला पशु सेवा कार्यालय मुस्ताङका योजना अधिकृत आईतबहादुर थकालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, ५ हजारको हाराहारीमा च्याङग्रा ल्याइनेछ । ‘मेला केहि दिनमा सकिदैछ, तर अहिलेसम्म बुझ्दा भेडाको खरिदबिक्री उत्साहजनक छ, उहाँले भन्नुभयो ‘गतबर्षमा सीमा क्षेत्रका किसानले पहिला नै ल्याएर राख्थे, अहिले मेलामै किनबेच भइरहेको छ, यसबर्ष २० हजार भेडाच्याङग्रा बजारमा जाने अनुमान छ ।’ कार्यालयको तथ्यांक अनुसार गतबर्ष १३ हजार भेडा र ८ हजार ४५ च्याङग्रा मुस्ताङबाट बाहिरिएका थिए ।
त्यसबाट मुस्ताङका किसानले २७ करोड रुपैयाँको कारोबार गरेका थिए । चाडपर्वको समयमा नेपाली बजारमा हुने मासुको मागलाई तिब्बत र सीमा क्षेत्रका किसानले पालेका भेडाच्याङग्राले धेरै हदसम्म पूर्ति गर्दै आएको छ । गतबर्षहरुमा जेठ असार महिनामै सीमा क्षेत्रका किसानले तिब्बतका किसानबाट ल्याएर पालेका भेडा नै बजारमा आएको थियो । यसबर्ष भेडा तिब्बतको र च्याङग्रा नेपाली उत्पादन हुने पशु सेवा कार्यालयले जनाएको छ । भेडाच्याङग्रा खरिदका लागि धौलागिरिका सहित पोखरा र काठमाडौँबाट व्यापारीहरु सीमा क्षेत्र पुगेपनि उनीहरुले स्थानीय किसान तथा व्यापारीबाट खरिद गरि बजार ल्याउने हुन् ।
उनीहरुले सिधै तिब्बती व्यापारीबाट भेडा किन्दैनन् । गतबर्ष बजारमा आएको सबै च्याङग्रा नेपाली किसानले पालेकै च्याङग्राहरु हुन् । मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, चराङ, कागबेनी, झोङ र घमी लगायतका क्षेत्रका किसानले पालेका च्याङग्रा बजारमा आउने बताईएको छ ।