म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
- ८ असार २०८३, सोमबार
- 3 पटक पढिएको
म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा नयाँ ‘होमस्टे’ सञ्चालनमा आएको छ। दर्मीजाका स्थानीय बासिन्दा विप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाइ छाडेर जन्मथलो फर्किएर व्यावसायिक रूपमा होमस्टे सञ्चालन गरेका हुन्। पुर्खाले बनाएको पुरानो शैलीको मौलिक घरलाई मर्मत सम्भार गरेर पुनले सञ्चालनमा ल्याएको यस घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरिएको छ। लामो समय बाहिरी परिवेशमा बिताएका पुनले भने, ‘करिब एक दशक रोजगारीका लागि इराक र व्यवसाय गरेर काठमाडौँमा बिताएँ। विदेश र बजारमा आर्जेको व्यावसायिक ज्ञान, सीप र पुँजी परिचालन गरेर ग्रामीण क्षेत्रमा कृषिमा आधारित पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरेको हुँ।’ पृष्ठभूमिमा धौलागिरि हिमालको सुन्दर दृश्य देखिने दर्मीजा गाउँमा मगर समुदायको बाहुल्य बसोबास रहेको छ। यहाँको मुख्य आकर्षण नै प्रकृति, संस्कृति र मौलिक ग्रामीण जीवनशैलीमा रमाउन पाउनु हो। पर्यटकहरूले घरबासको कोठाबाटै दर्मीजा गाउँ र धौलागिरि हिमालको प्रत्यक्ष अवलोकन गर्न सक्छन्। स्थानीयस्तरमै उत्पादित खाद्यान्न, तरकारी तथा पशुजन्य वस्तुहरू नै यस होमस्टेका मुख्य परिकार हुन्। पाहुनाहरूले कोदो वा फापरको ढिँडो, स्थानीय रातो च्याउ, रैथाने कुखुरा र खसीबोकाको मासु, ताजा सागसब्जीका साथै गाउँघरमा पालेका गाईभैँसीको शुद्ध दूध, दही र मोहीको स्वाद लिन पाउँछन्। यहाँ खान र बस्नका लागि दैनिक प्रतिव्यक्ति एक हजार ५० रुपैयाँ शुल्क तोकिएको छ। वडाध्यक्ष गर्बुजाका अनुसार यस होमस्टेले ओझेलमा परेको दर्मीजा गाउँमा पर्यटकको चहलपहल बढाउन मद्दत गरेको छ। बेनी बजारदेखि २४ किलोमिटर उत्तरतर्फ रहेको दर्मीजा पुग्न कच्ची सडकमा सवारी साधनमार्फत डेढ घण्टाको यात्रा गर्नुपर्छ। दर्मीजादेखि चिमखोला हुँदै सोवाङ धुरी, धौलागिरि आइसफल, आधार शिविर र कालीबराह ताल भएर मुस्ताङ जान सकिन्छ। सडक निर्माणका कारण विस्थापित बनेको चल्तीको बेनी–जोमसोम पदमार्गको वैकल्पिक रूपमा धौलागिरि आइसफल हुँदै मुस्ताङ जोड्ने नयाँ पदमार्गमा पूर्वाधार बनाउने काम भइरहेको छ। हाल वार्षिक दुईदेखि तीन समूहका पर्यटक दर्मीजा हुँदै धौलागिरि आइसफल भएर मुस्ताङ जाने गरेका छन्। पुनले होमस्टेका साथै परिसरमै फलफूल बगैँचा पनि स्थापना गरेका छन्, जहाँ किबी, सुन्तला र कागतीका बोटहरू लगाइएका छन्। पुनको परिवारका अन्य सदस्यहरू काठमाडौँमै व्यवसाय गरेर बसेका भए पनि उनले गाउँमै फर्किएर होमस्टे र कृषि फार्ममार्फत दुई जनालाई नियमित रोजगारीसमेत दिएका छन्। अधिकांश मानिसहरू सेवा, सुविधा र रोजगारीको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन भइरहेको वर्तमान अवस्थामा विप्रसादले गाउँमै बसेर पनि सम्भावना र अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएका छन्।