नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग

  • १ जेष्ठ २०८३, शुक्रबार
  • 3 पटक पढिएको

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना जोड्ने ‘रेलिङ’सहितको पदमार्ग निर्माण भएको छ ।  नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो । पदमार्ग बनेपछि झरना अवलोकन गर्न आउने पर्यटकलाई आवतजावत गर्न सहज भएको छ ।गण्डकी प्रदेश सरकार र अन्नपूर्ण गाउँपालिकाको रु २७ लाख बजेटमा उपभोक्ता समितिमार्फत भिरालो पाखाको उकालोमा पाँच सय मिटरभन्दा बढी रेलिङसहितको पदमार्ग निर्माण भएको नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए । “आर्थिक वर्ष २०७९/८० देखि सुरु भएको पदमार्ग निर्माणले यसपालि पूर्णता पाएको हो”, उनले भने, “सुरुको वर्ष रु १० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले यस वर्ष रु पाँच लाख छुट्याएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु सात लाख र २०८१/८२ मा रु पाँच लाख विनियोजन गरेको थियो ।”

उपभोक्ताले विनियोजित बजेटको १० प्रतिशतबराबरको श्रमदान गरेर पदमार्ग बनाएका वडाध्यक्ष फगामीले बताए । एक दशमलव पाँच मिटर फराकिलो पदमार्गको डिलतर्फ रेलिङ राखिएको छ भने अधिकांश ठाउँमा ढलान गरेर पक्की बनाइएको छ । उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने र दुर्घटनाको जोखिम थियो । पहाडको बीच भागमा रहेको थुम्कामा झरना अवलोकनस्थल बनाउन अन्नपूर्ण गाउँपालिकाले चालु आवमा विनियोजन गरेको रु २० लाख बजेट कार्यान्वयनमा समस्या भएको छ । इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण योजना कार्यान्वयन गर्न नसकिएको वडाध्यक्ष फगामीले बताए । झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ । छ–सात वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो । हाल दैनिक एक सय जना स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकन गर्न आउने स्थानीय टकबहादुर पुनले बताए ।

अन्य समयको तुलनामा बिदाको दिन पर्यटक बढी आउने गर्छन् । परिवार, सहकारी, विद्यालय, कलेज र विभिन्न सङ्घसंस्थाबाट सामूहिक भ्रमणमा आउने गरेका हुन् । नारच्याङ झरना सुन्दर, आकर्षक र मनमोहक रहेको अवलोकनका लागि जानुभएका पोखराकी रसिला पराजुलीले बताए । यो झरनाको उचाइ तीन सय मिटरभन्दा बढी छ । यहाँ इन्द्रेणीको पनि दृश्य देख्न सकिन्छ । पर्यटकले झरनासँगै तस्बिर, भिडियो खिच्ने, टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने भएकाले प्रचारप्रसारमा सहयोग पुगेको छ । समुदायले नारच्याङ गाउँदेखि झरनासम्म पुग्ने कच्ची पदमार्ग, दृश्यावलोकनस्थल र घेराबार निर्माण गरेका छन् । झरनाको नजिकै रहेको भूमे देवताको थान नारच्याङवासीको धार्मिकस्थल हो । सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ । बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारीसाधन र ३० मिनेट पैदल हिँडेर झरनामा पुग्न सकिन्छ । झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सातवटा घरमा घरबास होमस्टे सञ्चालन भएको छ ।