रघुगंगा गाउँपालीकाको कार्यालयमा तालाबन्दी

  • १६ भाद्र २०७४, शुक्रबार
  • 5613 पटक पढिएको

म्याग्दी १६ भदौ । म्याग्दीको रघुगंगा गाउँपालीकाको कार्यालयमा पाखापानी र झिँका जनप्रतिनिधी तथा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् ।गाउँपालीकाको अस्थाई केन्द्र पाखापानी स्थित कार्यालयमा बिहीबार तालाबन्दी गरेका हुन् । दुई हप्ताअघिको गाउँसभाले रघुगंगाको स्थाई केन्द्र वडा न. ३ पिप्लेको मौवाफाँटमा कायम गर्ने निर्णय गरेपछि वडा न. ५ झिँ र ६ पाखापानीका जनप्रतिनिधी तथा बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

गाउँपालीका अन्तरगतका केही कार्यालय पाखापानीमा रहनुपर्ने माग सहित सुरु गरिएको आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तरगत गाउँपालीका कार्यालयमा तालाबन्दि गरिएको वडा न. ६ पाखापानीका अध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

उहाँका अनुसार २ वटा वडाले मालपोत, नापी, बन र स्वास्थ्य सम्बन्धि कार्यालय पाखापानीमा हुनुपर्ने माग गरेका छन् । यसअघि उनिहरुले गाउँपालीका कार्यालय जान हिडेका कर्मचारीलाई बाटो बाटै फर्काएका थिए । भदौ ५ गतेको गाउँसभाका सदस्यहरुको बहुमतका आधारमा मौवाफाँट केन्द्र तोकीएको थियो ।

यता गाउँपालिका प्रमुख भबबहादुर भण्डारीले भने अहिले कायम गरिएको स्थायी केन्द मौवाफाँट सम्म आउनका लागि झिँ र पाखापानी क्षेत्रका नागरिकलाई सहज रुपमा आउने व्यवस्था मिलाउन बुक्ल हुँदै झिँ र पाखापानीसम्म सडक सञ्जाल विस्तार गर्ने, रघुगंगा नदीमा मोटरेवल पुल निर्माण गर्ने, गाउँपालिकालाई चक्रपथको अबधारणमा सडक विस्तार गर्ने, पाखापानी क्षेत्रमा सेवा केन्द्रको लागि निरन्तर पहल गरिरहेको बताउनुभएको छ ।