म्याग्दी । बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै भत्किन थालेपछि मापदण्डअनुसार सुधार गर्न जनप्रतिनिधि र उपभोक्ताले दबाव दिएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत बेनी नगरपालिका– १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै ‘डिबिएसटी’ प्रबिधिको कालोपत्र गरिएको थियो ।
बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको विषयमा वडा नं १ का अध्यक्ष टेकबहादुर थापा र २ का अध्यक्ष यामबहादुर कार्की, पूर्वअध्यक्ष हिराबहादुर थापासहित स्थानीयवासी आज सडक डिभिजन कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए ।उनीहरुले सडक डिभिजनका निमित्त प्रमुख विष्णु लामिछाने र निर्माण कम्पनी गजेन्द्र–नयाँबाटो जेभीका आयोजना व्यवस्थापक अरुण सेढाईंलाई प्रत्यक्ष निरीक्षण गराएका छन् । “यो सडकको बेस बिछ्याउँदादेखि गुणस्तरीय नभएको गुनासो थियो । सो विषय लिखित रुपमा सचेत गराउँदा पनि सुनुवाइ भएन”, वडा नं २ का अध्यक्ष कार्कीले भने, “बेसको धुलोका कारण बिटुमिन जम्न नपाउँदा दुई चरणमा गरिएको कालोपत्र कार्पेट बिछ्याएको जस्तो भएको छ ।”
