हमासको नियन्त्रणमा रहेका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक
- २६ आश्विन २०८२, आईतवार
- 139 पटक पढिएको
गाजामा हमासको नियन्त्रणमा रहेका नेपालका बिपिन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको समाचार प्रकाशित भएकाे थियो। तर अहिले टाइम्स अफ इजरायल, एपीसहित सञ्चारमाध्यमले जारी गरेको २२ जना जीवितको सूचीमा बिपिन पनि परेका छन्।
शुक्रबारदेखि सुरु भएको युद्धविरामले अक्टोबर ७, २०२३ मा सुरु भएको दुई वर्षे विनाशकारी युद्ध अन्त्य हुने दिशामा छ। उक्त आक्रमणमा करिब एक हजार २०० जना मारिएका थिए भने २५१ लाई अपहरण गरिएको थियो। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धमा ६७ हजार प्यालेस्टिनी मारिएका छन्। इजरायली कारबाहीमा ज्यान गुमाउने आधा महिला र बालबालिका छन्। गाजाको २० लाख जनसंख्याको ९० प्रतिशत जनसंख्या विस्थापित भएको छ।
२५१ मध्ये गाजामा हाल ४८ बन्धक छन्। मृतक २६ बन्धकमा सन् २०१४ मा मारिएका एक इजरायली सैनिकको शव पनि छ। शुक्रबार भएको युद्धविरामसँगै सोमबारदेखि मंगलबारसम्म बन्धक रिहा हुने अपेक्षा छ। इजरायलले दुई हजार प्यालेस्टिनी कैदी रिहा गर्ने तयारी गरेको छ। जीवित ठानिएका २२ बन्धकमध्ये जोशी फिर्ता आउने अपेक्षामा देश छ।
जोशी आक्रमणअघि एक महिना नेपालबाट इजरायल पुगेका थिए। उनी गाजामा अहिले जीवित एकमात्र गैर–इजरायली बन्धक हुन्। गाजा सीमाको किबुट्ज अलुमिममा काम र कृषि अध्ययनका लागि पुगेका थिए। १७ नेपाली विद्यार्थीमध्ये १० को आक्रमणमा मृत्यु भएको थियो। जोशीले बम आश्रयबाट ग्रेनेड फ्याँकेर धेरैलाई बचाएका थिए। तर आफू घाइते भएर अपहरणमा परेका थिए।
हालै जोशीको परिवारले इजरायली सेनाले प्राप्त गरेको भिडियो सार्वजनिक गरेको थियो। जारी भिडियोमा उनले आफ्नो परिचय दिँदै भनेका छन्, ‘मेरो नाम बिपिन जोशी हो, म नेपालबाट आएको हुँ। म यहाँ सिक्न र कमाउन कार्यक्रममा कृषि फार्ममा काम गर्दैछु।’ यो भिडियो २०२३ को नोभेम्बरको मानिएको छ। यसले उनी जीवित रहेको प्रमाण दिएको परिवारले दाबी गरेको छ।