म्याग्दी जेसीजद्धारा “सफा नोट : हाम्रो अठोट” सचेतना
- ७ आश्विन २०८२, मंगलवार
- 145 पटक पढिएको
म्याग्दी ७ असोज । म्याग्दी जेसीजले दसैँको अवसर पारेर नेपाली नोटको सुरक्षा र सरसफाइमा सचेतना अभिबृद्धि गरेको छ । दसैँको टिकाको दिनमा दक्षिणा आदान प्रदानमा अबिर लगाउँदा नोटको सुरक्षा नहुने भएकाले मंगलवार बेनीमा सचेतना फैलाउने कार्यक्रम गरिएको हो । नोटलाई सुरक्षित बनाउनका लागि रंग, अविर नलगाउन, स्टिज नगर्न र सुरक्षित साथ नोटको आदानप्रदान गर्नका लागि स्टिगर टाँस गरी सचेतना अभिबृद्धि गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष विनोद घर्तिले जानकारी दिनुभयो । बेनीमा आर्थिक कारोबार हुने क्षेत्रमा पुगेर नोटको सुरक्षा सम्बन्धी सचेतना अभिबृद्धि गर्ने सन्देश फैलाउने काम गरिएको उहाँले बताउनुभयो ।
म्याग्दी जेसीजका पदाधिकारी तथा सदस्यहरुले मंगलवार बेनी बजार क्षेत्रमा नोट सुरक्षा सम्वन्धी सचेतना फैलाउने स्टिगर टाँस गरेका छन् । सोमबार म्याग्दी जेसीजले बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान सहित “सफा नोट ः हाम्रो अठोट” कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धन्नजय श्रेष्ठ विशेष अतिथि रहनुभएको थियो।
सो अवसरमा म्याग्दी जेसीजका अध्यक्ष विनोद घर्तिले अध्यक्षता गर्नुभयो भने सदस्य सुस्मा खत्रीले सञ्चालन गर्नुभएको थियो। साथै पूर्व अध्यक्षहरू तथा पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममार्फत दशैँ पर्वमा अत्यधिक मात्रामा प्रयोग हुने नेपाली नोटहरूको सुरक्षा, सरसफाइ र सचेत प्रयोगबारे जनचेतना फैलाउने सन्देश प्रवाह गरिएको म्याग्दी जेसिजले जानकारी दिएको छ।