कालीगण्डकीमा वेपत्ता कुमारको ‘कुशको शव’ जलाएर अन्त्योष्टि, ९ बर्षका छोरा किरिया बसे
- २० भाद्र २०८२, शुक्रबार
- 1 पटक पढिएको
गत भदौ १४ गते शनिवारदेखि कालीगण्डकी नदीमा वेपत्ता भएका रघुगंगा गाउँपालिका–२ भगवती निवासी ३६ बर्षिय कुमार रिजालको एक सातासम्म पनि शव फेला नपरेपछि शुक्रवार ‘कुशको शव’ पुत्ला दहन गरी अन्त्योष्टि गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत एककुमार रिजाल र उहाँका साथी बेनी नगरपालिका–६ जामुनाखर्क निवासी हरी प्रसाद शर्मा (रिजाल)को अवस्था अज्ञात भएपछि सुरक्षाकर्मी तथा परिवार र आफन्तजनद्वारा व्यापक खोजतलास गरिएको थियो ।
शनिवार राती करिब ११ बजेदेखि वेपत्ता भएका रिजालद्धयमध्ये शुक्रवार हरीको शव फेला परेको छ । बेनीको एक होटलमा संगै खाना खाएर रिजालद्धय सवार मोटरसाइकल मोडिएको सडकमार्ग र त्यस क्षेत्रमा उपलब्ध सिसी क्यामेरामा कैद भएका दृष्यहरुले उनीहरु बेनीको कालीगण्डकी नदी किनारमा निर्मित चक्रपथको सडकमार्ग हुँदै कालीपुल जाँदै गर्दा दुर्घटनामा परेर कालीगण्डकी नदीमा खसेको पुष्टि भएको थियो । घटनास्थलमा हरी रिजालको जुत्ता, उनीहरु सवार मोटरसाइकलको भाइजर र नदी किनारमा मोटरसाइकलको ट्याङ्की भेटिएपछि खोजी कार्य अझ तीव्र पारिएको थियो। त्यसै क्रममा भदौ २० गते शुक्रवार बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित कालीगण्डकी नदी किनारमा हरी रिजालको शव फेला परेको छ। तर, एककुमार रिजालको कुनै अवस्था पत्ता लाग्न सकेन।
उक्त दुर्घटनाबाट एकसाथ वेपत्ता भएका दुवै व्यक्ति एउटै सवारीमा सवार थिए भन्ने पुष्टि भइसकेको , हरी रिजालको शव फेला परेको तथा कुमार रिजालको अवस्था सात दिनसम्म पनि पत्ता नलागेपछि, हिन्दू वैदिक सनातन परम्परा अनुसार ‘कुशको शव’ (पुत्ला दहन) बाट दाहसंस्कार गर्दै दुर्घटनामा परेको दिनदेखि नै गणना हुने गरी दिवंगत कुमार रिजालको मृत्युसंस्कार सुरु गरिएको पारिवारीक स्रोतले जनाएको छ। शुक्रवार तिलकेनी स्थित कालीगण्डकी आर्यघाटमा दिवंगत कुमारका ९ बर्षिय छोरा एलिसले दागबत्ती दिएका थिए । कक्षा तीनमा अध्ययनरत बालक एलिसले नै बुवा कुमारको किरियाकर्म गर्नेछन् । ब्रतवन्धको कर्म पूरा गरिसकेकाले उमेर सानो भएपनि कुमारकै छोराले आफ्नो बुवाको किरियाकर्म गर्न लागेका हुन् । नौ बर्षिय बालकले बुबाको पुत्लामा दागबत्ती दिएको दृष्य निकै कारुणीक थियो भने सागरमा सहभागीहरु भावविहल बनेका थिए ।