ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु
- १८ असार २०८२, बुधबार
- 183 पटक पढिएको
मालिका गाउँपालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार भूगर्भविद्हरुको टोलीले खानीमा तामाको मात्रा पहिचान र उत्खननका क्रममा हुनसक्ने वातावरणीय प्रभाव तथा त्यसको असर न्यूनीकरणका उपायका विषयमा अध्ययन गर्नेछ ।प्रभावित क्षेत्रका बासिन्दाहरुको सुझाव सङ्कलनका लागि कम्पनीले गत हप्ता ओखरबोटमा सार्वजनिक सुनुवाइ गरेको थियो । कम्पनीले मङ्गलबार सात दिने सार्वजनिक सूचना पनि जारी गरेर प्रभावित क्षेत्रका बासिन्दा तथा सङ्घसंस्थाबाट सुझाव माग गरेको छ ।स्थानीयले खानी उत्खननका लागि अध्ययन थालिएकोमा खुसी व्यक्त गरेका छन् । वातावरणीय र विपद्जन्य घटना हुन नदिन सतर्कता अपनाउन तथा रोजगारीमा प्रभावितलाई प्राथमिकता दिन सुझाव दिएका छन् । स्थलगत अध्ययनका लागि आएका भूगर्वविद् रोनित पौडेलले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पारित भएपछि खानीमा तामाको खोज र अनुसन्धान गरिने बताए । खानीको खोजतलास र सम्भाव्यता अध्ययन गरेपछि अर्को चरणमा उत्खननको प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।मालिका गाँउपालिका-३ का ७२ वर्षीय विसराम पटेलका अनुसार ओखरबोटको खानीबाट विसं २०२८ सम्म स्थानीय प्रविधिको प्रयोग गरी तामा निकाल्ने गरिन्थ्यो । प्रविधिको अभाव र आम्दानीभन्दा बढी राज्यलाई कर तिर्नुपर्ने अवस्था आएपछि त्यसबेला तामाखानी बन्द भएको पटेलले बताए । तामाखानीमा दैनिक दुई सयभन्दा बढी कामदर खटिनुका साथै प्रत्येक दिन सात/आठ धार्नीसम्म तामा निकाल्ने गरिएको पटेलको सम्झना छ । तामाखानीमा दुई वटा मुहान छन् । ती मुहानहरुको लम्बाइ दुई सय ५० देखि पाँच सय मिटरसम्म रहेको छ । यहाँ अझैसम्म पनि तामाका घाउ देख्न सकिन्छ । दुई सय मिटरभित्रसम्म जान सकिने तामाखानीको सुरुङ छन् । रासस