पूर्वाधार निर्माणमा राम्चेको अनुकरणीय सफलता :‘योजनाहरुको सतप्रतिशत कार्यान्वयन’
- १४ असार २०८२, शनिबार
- कमल खत्री
- 83 पटक पढिएको
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा सतप्रतिशत योजनाको काम निर्धारित समय अगाबै सकिएको छ । चालु आर्थिक बर्ष २०८१÷०८२ मा गाउँपालिका र वडा कार्यालय मार्फत सञ्चालन भएका पूर्वाधार निर्माण योजनाहरु गत जेठ अगाबै सम्पन्न भएका हुन् । यस बर्ष वडाभित्र करिब रु १ करोड बढी बजेटबाट सडक, पदमार्ग, भवन लगायतका पूर्वाधार निर्माण गरिएको वडा अध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो ।
‘‘वडाबाट छनौट भएका र पालिकाबाट थप भएर आएका योजना सतप्रतिशत कार्यान्वय भएका छन्, हामीले जेठमै सबै योजनाको काम सकेका थियौँ, पालिकाबाट जनप्रतिनिधि र प्राविधिकहरुले अन्तिम अनुगमन गरेपछि अहिले भुक्तानीको काम भैरहेको छ’’– वडा अध्यक्ष गर्बुजाले भन्नुभयो । उपभोक्ता समिति, समुदाय र जनप्रतिनिधिको सक्रियताले वडामा भित्रिएको बजेट फिर्ता हुने र निर्माण कार्यमा ढिलासुस्तीको समस्या हटेको वडा अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।
यस वडामा चालु आर्थिक बर्षमा दुई ठूला गौरवका योजना सञ्चालन भएका थिए । पर्यटकीय बस्तीको रुपमा परिचित नाङ्गी गाउँमा रु २० लाख बजेटबाट खेलमैदान निर्माण गरिएको छ । हिमाञ्चल माध्यमिक विद्यालय परिसरमा विद्यार्थी र स्थानीय युवाहरुलाई लक्षित गरी फुटवल खेल सञ्चालन गर्न सकिने क्षमताको खेलमैदानको आधारभूत पूर्वाधार निर्माण भएको छ । त्यसैगरी राम्चे गाउँमा वडा कार्यालय भवनमा तला थपको लागि वडा र पालिकामार्फत विनियोजन भएको रु २५ लाख र जिल्ला समन्वय समिति तथा पालिकाको लागत साझेदारीमा रु ८ लाख बराबरको भौतिक संरचना निर्माणका काम समेत सम्पन्न भएको वडा अध्यक्ष गर्बुजाले जानकारी दिनुभयो ।
नाङ्गीदेखि राम्चे आउने थावनमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पदमार्ग निर्माण र परम्परागत ढुङ्गे साँघु मर्मत गरिएको छ । थावन स्थित दोबिल्ना खोलामा रहेको जिर्ण ढुङ्गे साँघु मर्मत र पदमार्ग निर्माणले सर्वसाधारणलाई सहज भएको स्थानीय रबि गर्बुजा पुनले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत थावन र महभिरदेखि धार्मिक पर्यटकीय स्थल करबाकेली थान जोड्ने बाटोमा ढुंगाको सिढी चिनेर करिब २५६ मिटर पदमार्ग निर्माण भएको छ ।
ढुङ्गा चिनेर स्थानीय स्रोत, साधन र जनशक्तिको प्रयोग गरी पदमार्ग निर्माण भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका प्राविधिक सहायक निश्चलराज चोखालले जानकारी दिनुभयो । यसै बर्ष वडा नम्बर ८ को काफलडाँडामा घाट जाने बाटोमा रु ८ लाख बजेटबाट करिब ४ सय मिटर पदमार्ग निर्माण गरिएको छ । चालु आर्थिक बर्षमा यस वडाको नाङ्गीमा युवा क्लबको भवन मर्मत, काफलडाँडामा देउराली युवा क्लबको भवन निर्माण भएको छ ।
वडाभित्र सञ्चालित सडक निर्माण योजना मार्फत आलडाँडादेखि नाका जोड्ने सडकमा सात सय मिटर र बासुर क्षेत्रमा १ हजार २ सय मिटर नयाँ सडकको ट्याक निर्माण भएको निर्माण भएको वडाका प्राविधिक सम्भुकुमार यादबले जानकारी दिनुभयो । उहाँका अनुसार, यस बर्ष थपना देउराली बालविकास भवनको घेरावार, काफलडाँडा आधारभूत विद्यालयमा सिलिङ निर्माण, महभिर सिंचाई पोखरी मर्मतलगायतका भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l