जलजलामा मनाइयो ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस (तस्बिर/भिडियाे)

  • २४ फाल्गुन २०८१, शनिबार
  • 271 पटक पढिएको

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले महिलाहरुको हाजिरी जवाफ र म्युजिकल चेयर प्रतियोगिता तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिवार जलजला गाउँपालिका– ४ स्थित लुङ्दी आधारभूत विद्यालयमा अयोजित कार्यक्रममा बक्ताहरुले नेपालको संविधानमा महिलाहरुका अधिकार लेखिएपनि व्यवहारिक रुपमा अझै कार्यान्वयन हुन नसकेको बताउनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यले संवैधानिक रुपमा महिलाहरुको अधिकार स्थापित भएपनि व्यवहारिक रुपमा कार्यान्वन गर्न आबश्यक रहेको बताउनुभयो । उहाँले समाजमा रहेका सबैखाले विभेद र असमानताहरुको अन्त्य गर्न सकेमा मात्रै महिलाहरुले समेत समाजमा उचित अवसर पाउने अवस्था आउने बताउनुभयो । अघिल्लो पुस्ताको तुलनामा अहिले महिलाहरुले राजनीतिक, सामाजिक र अवसर पाउने कुरामा पहुँच बढ्दै गएको बताउँदै गाउँपालिकाले समेत महिलाहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

 

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले महिलाहरुलाई अवसरमा प्राथमिकता दिने कुराले पहुँच बढाउने बताउँदै आर्थिक रुपमा समेत सक्षम बनाउनुका साथै अधिकारको लागि शसक्तिकरण र आयआर्जनका लागि उद्यमशिलतामा जोड्ने काममा गाउँपालिकाले जोड दिएको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य भिमसेन बराईलीले समाजमा रहेको विभेद, असमानताले महिलाहरु पनि आर्थिक सामाजिक रुपमा दमनमा पर्ने गरेको उल्लेख गर्दै सामुहिक प्रयासले मात्रै समाजमा रहेको परम्परागत विभेद र असमानतालाई हटाउन सकिनेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल महिला संघ जलजलाका प्रभा शर्मा न्यौपाने, अखिल नेपाल महिला संघ जलजलाका अध्यक्ष बालकुमारी आचार्य, अखिल नेपाल महिला संगठन क्रान्तिकारीका जिल्ला सदस्य रीता दर्जी, महिला अधिकार कर्मी जमुना आचार्यले महिला अधिकारको बिषय संविधानमा लेखिनु र व्यवहारमा उतार्नु फरक रहेको अनुभव सुनाउँदै महिला शसक्तिकरणको लागि सबै मिलेर अगाडी बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । हाजिरजवाफ प्रतियोगितामा ज्योतिमण्डल मावि प्रथम, विद्याज्योति मावि द्धितिय, अमृत आदर्श प्याराडाइज एकेडेमि तृतीय र जनकल्यण मावि सान्त्वना हुन सफल हुनुभएको छ । प्रतियोगितामा शिक्षक, विद्यार्थी, कर्मचारी र अन्य महिलाहरुले सहभागीता जनाउनुभएको थियो । प्रतियोगितामा प्रथम, द्धितिय , तृतीय र सान्त्वना हुनेलाई क्रमश नगद रु ९ हजार, ७ हजार, ५ हजार र ३ हजारको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । त्यसैगरि दिवसकै अवसरमा आयोजित म्युजिकल चेयरमा प्रथम हुन सफल विष्णुकुमारी रायमाझी, द्धितिय सुवर्ण श्रेष्ठ र तृतीय हुन सफल सोफिया गर्वुजालाई क्रमश नगद रु १ हजार पाँच, १ हजार र पाँच सय नगद सहित प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यको अध्यक्षता, कार्यपालिका सदस्य बवि सुवेदीको स्वागत रहेको कार्यक्रमको सञ्चालन गाउँपालिकाका देवि रिजाल र भेषनाथ आचार्यले गर्नुभएको थियो ।