माथिल्लो राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा
- २० फाल्गुन २०८१, मंगलवार
- 31 पटक पढिएको
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत् गृह सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत् गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।
“हालसम्म सिभिलतर्फ ९५, हाइड्रोमेकानिकल ८० र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ”, उनले भने, “ विद्युत् गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ ।” तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत् गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए । रघुगंगा-७ चिमखोलामा बाँध र रघुगंगा–४ दग्नामको फेदीमा विद्युत् गृह रहेको यस आयोजनाको सुरुङ चार हजार नौ सय मिटर लामो छ । “आउटलेटबाट विद्युत् गृहसम्म छ सय ८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब एक सय मिटर मात्र बाँकी छ । विद्युत् गृहबाट उत्पादन भएको विद्युतलाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ”, उनले भने ।
तुँदी पावरले राहु घाटमा निर्माण गरेको अर्को ३७ दशमलव पाँच मेगावाट क्षमताको मंगले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगंगा-८ को बन्दीमा बाँध, रघुगंगा-७ को चिमखोलामा विद्युत् गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङको सबै काम सकिएको छ । मंगले राहुघाटको विद्युत् गृहबाट निस्कने र चिमखोलाको बगर खोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत रु. १३ अर्ब रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे ।
अपर राहुघाट र मंगले राहु घाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा-३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१ दशमलव तीन मेगावाट क्षमताको ठुलो खोला र ठुलो खोला हाइड्रोपावर लिमिटेडले २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलो खोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।
राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।