जलविद्युत आयोजनाकाे सामाजिक उत्तरदायित्वको रकम पारदर्शी भएन

  • १७ फाल्गुन २०८१, शनिबार
  • 47 पटक पढिएको

म्याग्दी,  १६ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणधिन अवस्थामा रहेका पाँच जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी नगरेको पाईएको छ । जलविद्युत आयोजनाहरुले प्रभावित क्षेत्रका बासिन्दाको माग बमोजिम समुदायको शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको क्षेत्रमा खर्चिनुपर्ने रकमको पारदर्शीता नभएपछि स्थानीयबासी रुष्ट बनेका छन् ।


यस गाउँपालिकामा ४० मेगावाट क्षमताको राहुघाट, २२ दशमलब ५ मेगावाटको ठूलोखोला ‘ए’, ३५ दशमलब ५ मेगावाट क्षमताको राहुघाट मंगले, २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला र ४८ दशमलब ५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत आयोजना निर्माणधिन रहेका छन् ।
संक्षिप्त वातावरणीय अध्ययन प्रतिवेदन र प्रारम्भिक वातावरणीय परीक्षण, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनहरुमा प्रस्तावित जलविद्युत आयोजनाको प्रभाव क्षेत्रभित्र रहेको क्षेत्रको भौतिक, जैविक, रसायनिक, आर्थिक, सामाजिक, धार्मिक र साँस्कृतिक वातावरणमा पर्ने असरहरु र ती असरहरुलाई न्युनीकरण निश्चित बजेट नै विनियोजन हुने भएपनि आयोजनाहरुले आफुखुसी उक्त रकम खर्चन थालेपछि जनप्रतिनिधि र स्थानीयबासीले विरोध जनाएका छन् ।
विहिवार गाउँपालिकाले आयोजना गरेको पालिकाभित्र सञ्चालित जलविद्युत आयोजनाका प्रतिनिधि र सरोकारवालाबिचको छलफलमा प्रभावित क्षेत्रका स्थानीयले जलविद्युत आयोजनाहरुले सामाजिक उत्तरदायित्वको रकमलाई आफु अनुकुल खर्च गर्ने र स्थानीय तहसंग समन्वय नगर्ने गरेको भन्दै विरोध गरेका थिए । सबै आयोजनाहरुलाई सामाजिक उत्तरदायित्वमा खर्चिने रकमको विवरण पेश गर्न भनेपनि अहिलेसम्म नआएको गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो ।
केहि आयोजनाहरुले आफ्नै पहुँचमार्गमा बनाइएको सडक र पुलका पूर्वाधार तथा सुरुङबाट निस्कने मकिङ डम्पिङ गर्न बनाएका पूर्वाधारलाई समेत सामाजिक उत्तरदायित्व अन्तरगत नै बनाइएको प्रचार गरेको भन्दै गाउँपालिका अध्यक्ष भण्डारीले समुदायमा खर्चिनुपर्ने दायित्वबाट आयोजनाहरु पञ्छिन खोजेको बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य खमबीर गर्वुजा र प्रदेश सभा सदस्य हरि भण्डारीले जलविद्युत आयोजनाहरुले समुदायमा गर्नुपर्ने दायित्वबाट भाग्न खोजेको गुनासा आएको बताउँदै आयोजनाहरुले सामाजिक उत्तरदायित्वको साथै सडकलाई कालोपत्रे गर्ने र समुदायको विकासमा उचित सहकार्य गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले आयोजनाहरुले आफ्नो पूर्वाधार निर्माण हुने क्षेत्रमा राजश्व नै नतिरीकन नदिजन्य पदार्थको प्रयोग गरेको देखिएको बताउँदै त्यसतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने र आयोजनाहरुले समुदायप्रतिको उत्तरदायित्व बहन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रघुगंगा जलविद्युत आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले आयोजनाबाट सामाजिक उत्तरदायित्वकोक्षेत्रमा कुल रु ६ करोड ६४ लाख खर्चिन पाउनेमध्ये हालसम्म रु २ करोड ३९ लाख खर्च भएको जानकारी गराउनुभएको थियो । त्यसैगरि २२ दशमलब ५ मेगावाटको ठूलोखोला ‘ए’ जलविद्युत आयोजनाका आवासीय इञ्जिनियर सञ्जिप न्यौपानेले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च हुने कुल रु १ करो ९२ लाख बजेटलाई प्रभावित क्षेत्रमा पर्ने वडा नम्बर ८ र ७ मा खर्च गर्ने तयारी भएको जानकारी दिनुभयो ।
कार्यक्रममा २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण गरिरहेको संयुक्त ऊर्जा लिमिटेडका बुद्धिराज अधिकारी, अपर राहुघाट र राहुघाट मंगले दुई जलविद्यूत निर्माण गरिरहेको तुदी पावर कम्पनीका उपेन्द्रराज गौतमले आयोजनाले सामाजिक उत्तरदायित्वको क्षेत्रमा खर्च गरेको विवरण पेश गरेपनि कुल खर्च हुने रकम सार्वजनिक गर्न सकेका थिएनन् ।
विहिवारको छलफलमा जलविद्युत आयोजनाहरुले सामाजिक उत्तरदायित्व र समुदायको विकासमा गर्नसक्ने साझेदारीको सन्दर्भमा स्पष्ट खाका ल्याउन नसकेकाले आगामी फागुन २५ गते आयोजनाका प्रमुखहरुलाई नै आमन्त्रण गरेर बृहत छलफल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो ।