कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गर्ने काम सुरु
- १४ फाल्गुन २०८१, बुधबार
- 283 पटक पढिएको
बेनी नगरपालिका–८, कालीपुल बसपार्क क्षेत्रको सडक कालोपत्रे गर्ने काम सुरु गरिएको छ । योजनाको ठेक्का सम्झौता अवधि सकिएपछि निर्माण कम्पनीले सडक कालोपत्रे गर्न थालेको हो ।
राष्ट्रिय गौरव कालीगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने कालीगण्डकी पक्की पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गे पुलसम्म पाँच सय मिटर सडक ११ मिटर चौडाइका दरले कालोपत्रे सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका इन्जिनियर विष्णु चापागाईंले जानकारी दिनुभयो ।
आयोजनाले कालोपत्रे गर्न २०८१ भदौ १४ गते सक्षम ब्रदर्स प्रालिसँग पाँच महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ९२ लाख ४१ हजार रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । ठेक्का म्याद गत माघ मसान्तमा सकिएपछि निर्माण कम्पनी जरिबानामा परेको थियो ।
निर्माण कम्पनीले समयमै उपकरण र निर्माण सामग्री जुटाउन नसकेका कारण कालोपत्रे गर्ने काममा ढिलाइ भएको आयोजनाका इन्जिनियर चापागार्इंले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीलाई कालोपत्रे गर्न धेरै पटक ताकिता गरेपछि अहिले उपकरण र सामग्री जुटाएर काम सुरु भएको छ । अब कामले गति लिने विश्वास गरिएको छ ।”
जिल्ला भित्रिने मुख्य नाकामा रहेको सडक कालोपत्रे गर्न ढिलाइ हुँदा स्थानीयवासीलाई धुलोले सास्ती दिँदै आएको छ । त्यसैले ठेकेदारले चाँडोभन्दा चाँडो काम गर्नुपर्ने माग स्थानीयले राख्दै आएका छन् ।