माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु
- ११ फाल्गुन २०८१, आईतवार
- 551 पटक पढिएको
बेनी, ११ फागुन : म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा ३७ मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजना निर्माण शुरु भएको छ ।
हाइड्रो इम्पाएर प्रा.ली. प्रर्वद्धक रहेको आयोजनाले सिम्कोश दोभानको बाँध देखि घिम्लेटी जोड्ने चार किलोमिटर लामो सुरुङ निर्माण कार्यको आइतबार गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्रि रेशमबहादुर जुुग्जाली (सुविन)ले शिलन्यास गर्नुभयो ।
कार्यक्रममा धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, वडा अध्यक्ष यामबहादुर घर्ती लगायत जनप्रतिनिधी, स्थानीयबासी, आयोजनाका प्रर्वद्धक, परामर्शदाता र निर्माण कम्पनीका सञ्चालक तथा प्रतिनिधीहरुको उपस्थिति थियो ।
आयोजना प्रमुख रमेश सुवेदीले आगामी २०८२ चैत मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य सहित बाँध, सुरुङ र विद्युतगृह निर्माणको काम थालेको जानकारी दिनुभयो । “पहुँचमार्ग लगायत पूर्वाधार निर्माण सकेर आयोजनाको मुख्य संरचना निर्माण थालिएको छ,” उहाँले भन्नुभयो “बाँध, नाउरा र आउटलेटको अडिटबाट सुरुङ निर्माण थालिएको हो ।”
माथिल्लो म्याग्दीले अपर म्याग्दी–१ र म्याग्दीखोला जलविद्युत आयोजनासँग सहकार्य गरेर मालिका गाउँपालिका–७ बिमको भारबाङ देखि कल्लेनी, छहरी, खारा, खाम्ला, नाउरा सिम्कोश दोभानसम्म पहुँचमार्ग निर्माण गरेको छ । सिम्कोश दोभान देखि बगरसम्म म्याग्दीखोला जलविद्युत आयोजनाले हालै सडक पु¥याएको छ ।
- म्याग्दी नदीमाथि ५० र ३० मेट्रिक्टन क्षमताको दुई वटा बेलिब्रिज जडान गरेको गरेर आयोजना निर्माण स्थललाई पहुँचमार्गले जोडेको आयोजनाका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताउनुभयो । नेपाली सेनाको क्याम्प स्थापना भएको छ । सिन्कोस र म्याग्दी खोलाको दोभान भन्दा एक सय ३० मिटर तल म्याग्दी खोलाको दायाँ किनारमा बाँध, म्याग्दी खोलाको बाँया किनारमा भूमिगत बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ्ग बन्ने आयोजनाको बिद्युतगृह म्याग्दी खोला र मुदी खोला भन्दा एक किलोमिटर माथि निर्माण थालिएको छ ।
चार किलोमिटर लामो सुरुङ्गबाट ल्याइने पानी तीन सय दशमलब ८८ मिटर अग्लो हेडबाट बिद्युतगृहमा खसालेर बिद्युत उत्पादन गरिने भएको छ । आउटलेट देखि बिद्युतगृहसम्म सात सय ९७ दशमलब ९६ मिटर लामो पेनस्टक पाइप जडान गरिनेछ् ।
कुल छ अर्ब ६९ करोड ९४ लाख ९५ हजार लागत अनुमान गरिएको आयोजनामा प्रर्वद्धक र सर्वसाधारणको सेयर बाहेक सिद्धार्थ बैंक, नेपाल एसबिआई, सिटिजन्स बैंक, एभरेष्ट बैंक र नबिल बैंकको रु. पाँच अर्ब ३४ करोड ८८ लाख ९८ हजार लगानी रहने छ ।७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी रहने आयोजना पूरा भएपछि दुई सय १५. दशमलब सात सय १४ गिगावाट प्रतिघण्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत विद्युतगृहदेखि नौ दशमलब दुई किलोमिटर दूरीको एक सय ३२ केभी सिङगल सर्किट प्रसारण लाइनमार्फत डाडाखेत सबस्टेसनमा जोडिनेछ ।
शिलन्यास कार्यक्रममा प्रदेशसभा सदस्य जुग्जालीले माथिल्लो म्याग्दी लगायत यस क्षेत्रमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय ग्रिडमा जोड्नका लागि नेपाल विद्युत प्राधिकरण मार्फत मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन र त्यहाँ देखि राहुघाट जोडे्ने प्रशारण लाइन निर्माणको अन्तिम चरणमा रहेको बताउनुभयो ।डाडाखेत सवस्टेशन आयोजनासँगै म्याग्दी नदीमा जलविद्युत आयोजनाहरु भित्रिएको उहाँले बताउनुभयो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले माथिल्लो म्याग्दी लगायत आठ वटा जलविद्युत आयोजना निर्माणको चरणमा रहेको बताउनुभयो ।
जलविद्युत आयोजनाहरु समयमै निर्माण सम्पन्न भएमा त्यसबाट गाउँपालिकालाई रोयल्टी प्राप्त हुने र त्यसलाई विकास निर्माण तथा नागरिकको सेवा सुविधामा परिचालन गर्न सकिने बताउनुभयो ।धवलागिरी गाउँपालिका–४ का अध्यक्ष यामप्रसाद घर्ति, वडा सदस्य रिम रोका र हरिप्रसाद तिलिजाले जलविद्युत आयोजनासँगै दुर्गम र विकट क्षेत्रमा विकास भित्रिएको बताउनुभयो । जलविद्युत आयोजनाले निर्माण गरेको सडकबाट स्थानीयबासीलाई पनि सुविधा पुगेको उहाँले बताउनुभयो ।
अपर म्याग्दी र अपर म्याग्दी जलविद्युत आयोजनाको सहयोगमा खिवाङ गाउँमा सडक पुगेको छ । अपर म्याग्दीले आयोजना प्रभावित चेचुङ गाउँ जोड्ने सडक निर्माण गरेको छ । म्याग्दी खोला जलविद्युत आयोजनाको बाँध स्थल बगरको जेल्तुुङसम्म सडक पुुगेको छ ।