दुई दशकदेखि महिलाको नेतृत्वमा गाउँको स्कुल : ‘पूर्वाधार र गुणस्तर सुधार’

  • १६ मंसिर २०८१, आईतवार
  • 841 पटक पढिएको

कमल खत्री
म्याग्दी, १६ मङ्सिर । अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन भन्ने उदाहरण बन्नुभएको, बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत करिब दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालयको पूर्व विद्यार्थी समेत रहनुभएकी चोखालले वि.स. २०५० देखि शिक्षण गर्दै आउनुभएको छ भने वि.स. २०६४ देखि प्रअको समेत जिम्मेवारी बहन गर्दै आउनुभएको हो ।
तत्कालिन समयमा कक्षा ७ सम्मको मात्रै पठनपाठन हुने यस विद्यालयमा चोखालकै नेतृत्व अवधिमा कक्षा ८ (निमावि) र कक्षा १० (मावि) सम्मको पठनपाठन हुन थालेको छ । विगत दुई दशक अवधिमा विद्यालयको तह मात्रै बढेको छैन, विद्यालयको भौतिक र शैक्षिक वातावरणमा समेत व्यापक सुधार भएको छ । कच्ची र साँघुरा कोठामा पठनपाठन हुने विद्यालयमा अहिले सुविधायुक्त पक्की भवनहरु बनेका छन् । आधारभूत तहदेखि स्तरबृद्धि भएर माध्यमिक तहसम्मको पठनपाठन हुन थालेपछि स्थानीय बालबालिकाहरुलाई गाउँ छाडेर अन्यत्रै अध्ययन गर्न जानुपर्ने झण्झट र बाध्यता हटेको छ ।
यस विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समेत सन्तोषजनक नतिजा ल्याउने गरेको छ । तत्कालिन समयमा कक्षा ३ सम्म पठनपाठन हुने यसै विद्यालयमा आफ्नो आधारभूत तहको पढाई सुरु गर्नुभएकी चोखालले गलेश्वर मावि तोरीपानीबाट एसएलसी उर्तिण गर्नुभएको थियो भने तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस बागलुङबाट स्नातक तह पास गर्नुभएको थियो । स्नातक तहमा अध्ययन गर्दा गर्दै वि.स. २०५० सालमा आफुले प्रारम्भीक तहको शिक्षा लिएको विद्यालयमा अस्थायी शिक्षकको रुपमा शिक्षण पेसामा जोडिनुभएकी चोखालले जीवनको महत्वपूर्ण समय विद्यालय, विद्यार्थीकै हितमा खर्चिनुभएको छ ।
‘‘ म आफैले अक्षर चिनेको विद्यालयमा तीन दशकदेखि जोडिन पाउनुलाई मैले अवसर र कर्तव्यको रुपमा लिएको छु, समाजको विश्वास र मेरो आत्मविश्वासले विद्यालयलाई नेतृत्व गर्न सक्षम बनाएको हो, घरपरिवारको सकरात्मक सहयोगले पनि विद्यालयको काममा निरन्तर लागिरहन मलाई हौसला मिल्ने गरेको छ’’–प्रअ बानियाँले भन्नुभयो । विद्यालयसंग आफ्नो पेसा, कर्तव्य, जिम्मेवारी र उत्तरदायीत्व जोडिएको उहाँ बताउनुहुन्छ । वि.स. २०५२ सालको शिक्षक आयोगमा प्रावि तहको लिखित परीक्षा दिएपनि २०६१ सालमा मात्रै नतिजा प्रकाशित भएको र आफु सोही विद्यालयमा पदस्थापना भएको उहाँले बताउनुभयो ।
बानियाँ २०७० सालमा प्रावि द्धितिय तहमा बढुवा हुनुभएको छ । आफैले प्रारम्भीक तहको पढाई सुरु गरेको विद्यालयबाटै आफ्नो शिक्षण पेसा सुरु हुनु, सोही विद्यालयमा नै स्थायी शिक्षकको पदस्थापना हुनु र प्रअको भूमिकामा नेतृत्व सम्हाल्नु बानियाँको जीवनमा विद्यालयसंग सम्झन लायक संयोग बनेका छन् । बानियाँ प्रअको जिम्मेवारीमा आएपछि वि.स. २०६८ देखि प्रस्तावित माविको अनुमति लिएर विद्यालयको स्तरबृद्धि भएको थियो । ‘‘ प्रावि तहमा मात्रै दरबन्दीका शिक्षक कार्यरत थियौँ, बाँकी सबै शिक्षकको तलब सुविधा निजी स्रोतबाट जुटाउनुपथ्र्यो,पछि निमावि र माविमा केहि राहत र अनुदानका दरबन्दी थपिएपछि विद्यालयलाई राहत भयो, अहिलेपनि दुई जना निजी स्रोतबाट शिक्षक राखेका छौँ’’– प्रअ बानियाँले भन्नुभयो ।
समुदायको एकता र शिक्षक कर्मचारीको सामूहिकताले विद्यालयको शैक्षिक र भौतिक सुधार सम्भव भएको उहाँको अनुभूति छ । आफु महिला भएकै कारण विद्यालय असफल हुने त होइन भन्ने सुरुवाती चिन्ता समुदायको रचनात्मक साथ, व्यवस्थापन समितिको कुशल अगुवाई र शिक्षकहरुको मेहनतले उपलब्धीमा रुपान्तरण गर्न सम्भव भएको बानियाँले बताउनुभयो । ‘‘ महिला प्रअ भएकै कारण व्यक्तिगत रुपमा धेरै चुनौतिहरुको सामना गर्नुप¥यो, घरको काम व्यवस्थापन गरेर विद्यालयको लागि अतिरिक्त समय निकाल्नु महिलाहरुको लागि कठिन हुँदो रहेछ, शिक्षण संगै विद्यालयको कामले दौडधुप धेरै नै गर्नुप¥र्यो, जे जति विद्यालयको लागि समय लगानी गरेँ, विद्यालयको भौतिक र शैक्षिक स्वरुपमा आएको परिवर्तनले सन्तुष्टि मिल्ने रहेछ’’–प्रअ बानियाँले सुनाउनुभयो ।
विद्यालयल तत्कालिन समयमा निजि स्रोतका शिक्षकलाई मासिक १ लाख ५० हजार देखि दुई लाखसम्म रकम जुटाउनुपर्ने बाध्यता थियो । अहिले तल्लो तहमा कार्यरत भएपनि माथिल्लो तहमा समेत पठनपाठन गर्ने शिक्षकको सुविधा र निजि स्रोतका शिक्षकलाई गरि ९० हजारसम्म विद्यालयलाई व्यभार पर्ने गरेको प्रअ बानियाँ बताउनुहुन्छ । विद्यालयले देउसी भैलो, चन्दा संकलन र सामुदायिक वनको सहयोगबाट विद्यालयको व्यभार पूर्ति गर्दै आएको छ । केहि बर्ष शिक्षक तलब स्वरुप आर्थिक सहयोग उपलब्ध गराएको स्थानीय गलेश्वर ठूलो सल्लेरी सामुदायिक वनले रु १० लाखको अक्षयकोष स्थापना गरिदिएको छ ।
विद्यालयले सहयोगदाता, चन्दादाताबाट प्राप्त हुने रकमलाई समेत कोषमा जम्मा गर्ने गरेको छ । विद्यालयको अक्षयकोषमा देश विदेशमा छरिएका पूर्व विद्यार्थी र शिक्षकहरुले समेत रकम जम्मा गर्दै आएका छन् । कच्चि भवनलाई विस्थापित गरेर पक्कि भवन बनेसंगै विद्यालयको स्वरुप फेरिएको छ । गाजा युवा क्लब, तत्कालिन शान्ति मन्त्रालय, जिल्ला विकास समिति, शिक्षा कार्यालय र राष्ट्रिय पुननिर्माण प्राधिकरणबाट समेत गरेर विद्यालयमा नयाँ पक्की भवनहरु बनेसंगै अधिकाँश विद्यालयका विद्यार्थीहरुले पक्की भवनमा पठनपाठन गर्ने अवसर पाएका छन् । विद्यालयमा अझै दुई वटा कक्षा कच्ची र जिर्ण भवनबाट गर्ने गरिएकाले सम्बन्धित निकायमा निरन्तर भवन माग गर्ने गरिएको प्रअ बानियाँ बताउनुहुन्छ । यस विद्यालयले शिक्षण सिकाईमा समेत सूचना प्रविधिको प्रयोग गर्दै आएको छ ।
लामो समय हुने विदाको समयमा शिक्षकहरुले अनलाइन मार्फत विद्यार्थीहरुलाई पठनपाठनमा पुनर्ताजकी गर्ने गर्छन । आधारभूत तहको पढाईलाई गुणस्तरीय बनाउन विद्यालयले बालविकासबाट उर्तिण हुने विद्यार्थीहरुलाई केजि कक्षामा एक बर्ष पढेर मात्र कक्षा १ मा पढ्ने व्यवस्था गरिएको छ । विद्यालयमा नियमित पठनपाठनका साथै अतिरिक्त क्रियाकलाप र व्यवहारिक ज्ञान, सिप र क्षमता अभिबृद्धि गर्ने शिक्षण सिकाईलाई जोड दिने गरिएको छ । नेप्टेचौर, काउलेगौडा, कुवागैरा, स्यालीखेत लगायतका बस्तीका विद्यार्थीहरुले अध्ययन गर्ने यस विद्यालयमा अहिले १८५ जना विद्यार्थीहरु अध्ययनरत छन् । बानियाँका श्रीमान निजामती सेवामा हुनुहुन्छ भने छोराले इन्जिनियरिङ र छोरीले स्टाफ नर्स उर्तिण गर्नुभएको छ । रासस