छन्त्याल दम्पत्तिद्धारा गलेश्वरधामका ज्येष्ठ नागरिक, बटुक र स्वयमसेवकलाई निशुल्क भोजन

  • ३० श्रावण २०७४, सोमबार
  • गोपाल छन्त्याल
  • 8385 पटक पढिएको

म्याग्दी, ३० साउन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिक र सँस्कृत विद्यालयमा अध्ययनरत बटुकहरुलाई छन्त्याल दम्पत्तिले सोमबार निशुल्क भोजनको व्यवस्था गरिदिएका छन् ।


साउन महिनाको अन्तिम सोमबार तथा कृष्णजन्माष्टमीको अवसर पारेर आफ्ना दिवँगत पितृहरुको उद्दार र सम्झना गर्दै बेनीबजारस्थित क्याम्पसचोकका चित्रमान छन्त्याल र उहाँको धर्मपत्नी होमदेवी छन्त्यालले निशुल्क भोजनको व्यवस्था गरेका हुन् । गलेश्वरधाममा रहेका ६५ जना ज्येष्ठ नागरिक, गलेश्वरधाम सँस्कृत विद्याश्रममा अध्ययनरत १५ जना बटुक र सोमबार गलेश्वरको पुजा व्यवस्थापनका लागि खटिएका एकसय स्वयमसेवक तथा सुरक्षाकर्मीलाई छन्त्याल दम्पत्तिले खीर, तरकारी, दही र खानाको व्यवस्था गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।


दिवँगत आफन्तहरुको सम्झनामा पवित्र पर्व पारेर ज्येष्ठ नागरिक, बटुक र स्वयमसेवकहरुलाई भोजन गराउँदा खुशी लागेको समाजसेवी चित्रमान छन्त्यालले बताउनुभयो । रघुगंगा–८ कुईनेखानी पूख्र्यौली घर भएका छन्त्याल दम्पत्ति म्याग्दीमा सामाजिक व्यक्तित्वको रुपमा परिचित छन् । चित्रमान नेपाल छन्त्याल संघ म्याग्दीका अध्यक्ष तथा रिहगाद सहकारी संस्थाका निर्वतमान अध्यक्ष हुन् । होमदेवी नेपाल छन्त्याल महिला संघमा आबद्ध छन् । दिवंगत आफन्तहरुको उद्दार र आफ्ना सन्ततिको सुख प्राप्तका लागि आफुहरुले उक्त कार्य गरेको होमदेवी छन्त्यालले बताउनुभयो ।


छन्त्याल दम्पत्तिले ज्येष्ठ नागरिक, बटुक र जोगीहरुलाई पैशा समेत दान गर्नुभएको थियो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष एवँ बृद्धाश्रमका अध्यक्ष पण्डित भीमनाथ पराजुलीले छन्त्याल दम्पत्तिले नियमित रुपमा ज्येष्ठ नागरिकहरुलाई सहयोग र सम्मान गर्दै आएको बताउनुभयो ।

‘उहाँहरुले आज ज्येष्ठ नागरिक र बटुकलाई मात्र भोजन गराउनुभएन, यहाँ खटिने सबै स्वयमसेवकलाई पनि भोजनको व्यवस्था गराएर कोषलाई ठुलो सहयोग गर्नुभएको छ’, उहाँले भन्नुभयो, ‘यस्तो पवित्र कामले उहाँहरुले चिताएको कुरा अवश्यक पुरा हुनेछ ।’ उहाँले पवित्र कामका लागि छन्त्याल दम्पत्तिलाई आभार समेत व्यक्त गर्नुभएको थियो ।

 

गोपाल छन्त्याल

म्याग्दी अनलाईन डट् कमका निर्वर्तमान सम्पादक हुन् l