रघुगंगा गाउँपालिलाई दुई गाउँपालिका बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
- ३० श्रावण २०७४, सोमबार
- 3591 पटक पढिएको
म्याग्दी, ३० साउन । केन्द्र बिवाद रहेको म्याग्दीको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधीहरुले दुई वटा गाउँपालिका बनाउन सरकार समक्ष माग गरेका छन् । गाउँपालिका प्रमुख भबबहादुर भण्डारी सहित साँसद रेशमबहादुर बानियाँ, काँग्रेस सभापति खम्बीर गर्बुजा, काँग्रेस नेता केवी भण्डारी लगायतको नेतृत्वमा ८ वटै वडाका वडाअध्यक्ष सम्मिलित टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।
स्थानीय तह पुर्नसंरचनाको क्रममा भौगोलिक बनावट नमिलाईकन गाउँपालिकाको संरचना र केन्द्र निर्धारण गरिएको भन्दै जनप्रतिनिधिहरुले रघुगंगा गाउँपालिकालाई दुई वटा केन्द्र बनाउन माग गरेका हुन् । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले तत्कालै नयाँ गाउँपालिका थप गर्न नमिल्ने भएपनि गाउँपालिकामा समावेश वडाहरुलाई सहज रुपमा सुविधा पुग्ने गरि गाउँपालिका थपको लागि आबश्यक पहल गर्ने प्रतिकृया दिनुभएको थियो ।
टोलिले आईतवार संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारलाई समेत भेटेर आफ्नो क्षेत्रमा दुई गाउँपालिका बनाउन माग गरेका थिए । स्थानीय तहको निर्वाचन अघि संघीय संरचनामा प्रवेश गर्दा अहिले कायम भएको गाउँपालिकाको अस्थायी केन्द्र पाखापानी तोकिएपछि भगवति, पिप्ले र वेगखोला क्षेत्रका सर्वसाधारणलाई अपायक पर्ने भन्दै उनीहरुले मौवाफाँट केन्द्र बनाईनुपर्ने माग सहित चरणबद्ध आन्दोलन गरेका थिए ।
निर्वाचनपछि आएको जनप्रतिनिधीहरुले पटक–पटक वार्ता र छलफल गरेपनि निस्कर्षमा पुग्न नसकिएपछि दुईवटा गाउँपालिकाको केन्द्रको विकल्पमा उनीहरु पुगेका हुन् । यशो गर्दा पाखापानी र मौवाफाँट केन्द्र रहने र दुबै क्षेत्रका सर्वसाधारणलाई प्रशासनिक सुविधा लिन सहज हुने जनप्रतिनिधीहरुको बुझाई छ ।