साउनको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)

  • ३० श्रावण २०७४, सोमबार
  • कमल खत्री
  • 2877 पटक पढिएको

म्याग्दी, ३० साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको बाख्लो भिड लागेको छ । श्रीकृष्ण जन्माष्टमी र सोमबार एकै दिन परेको कारण भक्तजनहरुको आगमन ह्वात्तै बढेको हो ।


कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि म्याग्दीसंगै, बागलुङ। पर्वत, कास्की, लगायतका क्षेत्रबाट ठुलो संख्यामा भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्रविकास कोषका उपाध्यक्ष पण्डित भिमनाथ पराजुलिले बताउनुभयो ।


विहान ५ बजेदेखि नै भक्तजनहरु लाईनमा बसेर गलेश्वरको दर्शन तथा पुजापाठ गरेका छन् । मन्दिर परिसरमा लाईन नपुगेपछि प्रवेशद्धार बाहिरको सडकबाटै भक्तजनहरु लामबद्ध भएका थिए । दिउँसो मध्यान्न सम्ममा २० हजार बढी भक्तजनहरुले पुजाअर्चना गरेको कोषले जनाएको छ ।


गलेश्वर शिवालयको दर्शन तथा पुजापाठ र १०८ शिवलिङ्गमा कालिगण्डकी नदीको जल अर्पण गरेमा मनोकामना पुरा हुन जनविश्वास रहेको छ । यस साउन महिनामा यस अघिका चार वटा सोमबार मध्ये अन्तिम सोमबार सबैभन्दा बढी भक्तजन आएको कोषले जनाएको छ । धार्मीक गन्थ्रहरुमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ ।


कालीगण्डकी नदीको किनारमा चट्टानमाथी अवस्थित गलेश्वरको पुजाआजा र दर्शन गरेमा मनोकाक्षा पुरा हुने विश्वासले हरेक बर्ष जसो गलेश्वरमा आउने भक्तजनको संख्या बढ्दै गएको कोषका सदस्य सचिब माधवप्रसाद रेग्मीले बताउनुभयो ।


गलेश्वरधाममा भगवान शिवको पुजा आराधान गर्नाले मनोकांक्षा पुरा हुने विश्वासले साउने सोमबारमा भक्तजनको संख्या ह्वात्तै बढ्ने गरेको छ । मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर विश्वकै अलौकिक तिर्थस्थलको रुपमा परिचिछ छ ।

गलेश्वरमा भक्तजनबाट संकलन हुने भेटिलाई शिवालय क्षेत्र विकास कोषले पारदर्शी रुपमा सार्वजनिक गर्दै आएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । गलेश्वरमा आउने हजारौँ भक्तजनहरुको कारण मन्दिरमा चढाउने नरिवल संगै फुलप्रसादको व्यापार समेत ह्वात्तै बढ्ने गरेको छ ।

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l