ढुवानी समस्याले मूल्य वृद्धि
- २८ श्रावण २०७४, शनिबार
- 1505 पटक पढिएको
बाबियाचौर (म्याग्दी), २७ साउन । ढुवानीको समस्याका कारण जिल्लाको पश्चिमी क्षेत्रमा दैनिक उपभोग्य सामानको अभावसँगै मूल्य वृद्धि भएको छ ।
धौलागिरि, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ र अन्य सहायक सडक पहिरोका कारण अवरुद्ध भएपछि ग्रामीण क्षेत्रमा उपभोग्य सामग्रीको अभाव भएको हो ।
पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरवाङ बजारमा रहेका गोदाममा चामल, दाल, नुन, तेल, मैदा, चाउचाउ, बिस्कुटलगायत दैनिक उपभोग्य तथा रड, सिमेन्ट, जस्तापाताजस्ता निर्माण सामग्री सकिएको छ । गोदाममा भएको सामान सकिएको र सडक अवरुद्ध भएकाले आयात गर्न नसकिँदा समस्या भएको दरवाङका व्यापारी राजु अर्यालले बताउनुभयो ।
“हामीकहाँ भएको सामान गाउँमा पठाएर सकियो”, उहाँले भन्नुभयो, “सडकको समस्याले उपभोक्ताको माग पुरा गर्न सकिएको छैन ।” धौलागिरि, मालिका र तमानखोला गाउँपालिकाको व्यापारिक केन्द्र दरवाङ बजार हो । मंगला गाउँपालिका–२ लाम्पाटामा खसेको पहिरोका कारण बेनी–दरवाङ सडक विगत १५ दिनदेखि अवरुद्ध छ ।
दरवाङदेखि देवीस्थान, निस्कोट, लामेला, मुना, बिमलगायत गाउँ जोड्ने सडक समेत पहिरोले अवरुद्ध छ । सवारीसाधन सञ्चालन नहुँदा खच्चर र भरियामार्फत ढुवानी गर्नुपर्दा मूल्य वृद्धि भएको हो । उपभोग्य सामानमा प्र्रतिकिलो साविकको भन्दा रु पाँचदेखि रु दशसम्म मूल्य वृद्धि भएको धौलागिरि गाउँपालिका–३ दरका कमल पुर्जाले बताउनुभयो । खच्चर र भरियालाई बोकाएर सामान ढुवानी गर्दा ढुवानी खर्च दोब्बरले बढेको धौलागिरि गाउँपालिका–३ मुनाकी व्यवसायी कल्पना मल्लले बताउनुभयो । रासस