धौलागिरी गाउँपालिकाको केन्द्र वडा नम्बर ३ को घट्टेखोला कायम गर्ने निर्णय
अन्य पूर्वाधार धारापानीदेखि मुना सम्म बन्ने
- २६ श्रावण २०७४, बिहीबार
- कमल खत्री
- 5880 पटक पढिएको
म्याग्दी २६ साउन । म्याग्दीको धौलागिरी गाउँपालीकाको स्थाई केन्द्र वडा नम्बर ३ को घट्टेखोला कायम गर्ने निर्णय भएको छ । साउन २३ र २४ गते लगातार दुई दिनसम्म मुनामा भएको गाउँसभा बैठकमा मुना र ताकम मध्ये एक ठाउँलाई गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने बिषयमा सहमती जुट्न नसकेपछि उपयुक्त स्थान पहिचानको लागि भुगर्भविद्हरुको सहयोग लिने निर्णय भएको थियो ।
तर बुधवार गाउँसभाका एक तिहाई सदस्यहरुले हस्ताक्षर सहित पुनः गाउँसभा आह्वान गर्न लिखित आग्रह गरेपछि बैठकले निरन्तरता पाएको थियो । दिउँसो ११ बजेदेखि राती १० बजेसम्म भएको छलफलबाट अन्तत् गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मुनाको घट्टेखोलामा कायम गर्ने निर्णय भएको गाउँपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले जानकारी दिनुभयो ।
दिनभरको छलफलमा ताकम र मुना एक आपसमा आफ्नो अडानबाट पछाडी नहटेपछि गाउँसभामा रहेका ३७ सदस्य मध्ये २८ सदस्यको हस्ताक्षरले घट्टेखोलामा गाउँपालिकाको केन्द्र राख्ने निर्णय गरेको प्रवक्ता छन्त्यालले बताउनुभयो । सो निर्णयलाई गाउँ सभामा सहभागी नभएका थप तीन सदस्यले समेत सहमती गर्ने मौखिक खबर पठाएका थिए भने वडा नम्बर ७ ताकमका ४ सदस्यहरु सहित मल्कबाङ र मुदीका एक÷एक सदस्यले सो निर्णयमा असहमती जायर गरेका छन् ।
सो गाउँ सभाले गाउँपालिका केन्द्र संगै गाउँपालिका संग सम्बन्धित मालपोत, नापी लगायतका शाखाहरुको समेत पूर्वाधार घट्टेखोलामा निर्माण गर्ने निर्णय गरेको छ । अहिले अस्थायी केन्द्र रहेको मुना कार्यालयमा राजश्व तथा कर विभाग राख्ने, महिला बालबालिका, भूसंरक्षण, खानेपानी, सिचाई लगायतका विभागको पूर्वाधार वडा नम्बर ७ को मच्चीम स्थित महभिरमा निर्माण गर्ने, १५ सैयाँको अस्पताल वडा नम्बर ७ को धारापानीमा निर्माण गर्ने निर्णय गरेको छ ।
त्यस्तै क्याम्पस तथा उच्च शिक्षा र शिक्षासंग सम्बन्धित विभागहरु वडा नम्बर ७ कै सिवाङमा राख्ने, कृषि, बन, पशु सेवा लगायतका सेवा कार्यालयको पूर्वाधारहरु समेत वडा नम्बर ७ ताकममै राख्ने निर्णय भएको गाउँपालिकाका प्रवत्ता छन्त्यालले बताउनुभयो । यस अघि प्रत्येक वडाबाट जनप्रतिनिधि सहित दश जना सहभागी छलफल मार्फत मंगलबार अपराहन्न सम्म सहमती जुट्न नसकेपछि जनप्रतिनिधिहरुको बैठकमा अहिलेनै बहुमतको आधारमा टुङ्ग्याउने अथवा विज्ञको राय लिने भन्ने विषयमा छलफल भएको थियो ।
हाल अस्थाई केन्द्र रहेको वडा न. ३ मुना र वडा न. ७ ताकम मध्य कहाँ केन्द्र राख्ने भन्ने विषयमा राज्य पुनसंरचनासंगै बिवाद उत्पन्न भएको थियो । ताकम र मुना मा मध्ये कहाँ केन्द्र राख्ने बिषयमा दुबै गाउँका जनप्रतिनिधिहरु बिचमा आफसमा सहमती नजुटेपछि
बिचमा पर्ने शिवाङ, मच्छिम, सोलवाङको विकल्पमा समेत छलफल भएपनी सहमती जुट्न सकेको थिएन् ।
गाउँ सभाको दुई तिहाई बढी सदस्यहरुको हस्ताक्षरबाट गाउँपालिकाको केन्द्र सम्बन्धमा भएको निर्णयलाई कार्यान्वयनको लागि राजपत्रमा प्रकाशितको लागि पठाउने गाउँपालिका प्रमुख थमसरा पुनले बताउनुभयो । उहाँले ताकम र मुनाको अडानलाई सम्बोधन गर्दा जनताको भावना विपरित गाउँपालिकामा रहेन कार्यालयहरुलाई बाँडेर राख्ने निर्णय गर्नुपरेको समेत बताउनुभयो ।
‘‘ हामीले गाउँपालिकाका संरचना एकै ठाउँमा र सबैलाई पायक पर्ने ठाउँमा होस भन्ने चाहेका थियौँ, तर बहुमत सदस्यहरुले गरेको निर्णयलाई आत्मसाथ गर्दा गाउँपालिकाको पूर्वाधार केही छरिएर बन्ने भएको छ, तर यसले गाउँपालिकाको विवादलाई अधिकतम सहमतीको साथ मिलाएको छ,’’– अध्यक्ष पुनले भन्नुभयो ।
केन्द्रको बिवाद भएको स्थानीय तहमा निर्वाचन भएको ६ महिनाभित्र गाउँसभाले स्थाई केन्द्र तोक्न सक्ने व्यवस्था छ । राज्य पुनसंरचनाको क्रममा जिल्ला स्तरीय समितिले धौलागिरीको केन्द्र ताकमरमुना मध्य कुनै एक ठाउँ कायम गर्न सिफारीस गरेको थियो । पुनसंरचना आयोगले मुनामा अस्थाई केन्द्र कायम गरेको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l