बेनी बजारमा नगरपालिकाले नि लगायो चटपटे बिक्रीमा प्रतिबन्ध !
- २५ श्रावण २०७४, बुधबार
- 3717 पटक पढिएको
म्याग्दी, २५ साउन । म्याग्दी सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो ।
स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।
“सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको छ,” उहाँले भन्नुभयो । साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित भएको छ ।
चटपटे अमिलो बनाउन यहाँका केही व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हारपिक’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । नगरपालिकाले सडक छेउछाउमा रहेका टं्याकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ ।
ठेला तथा टं्याकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । फाईल तस्बिर