बेनीमा जिल्ला बाल भेला सुरु
- १९ श्रावण २०७४, बिहीबार
- 1861 पटक पढिएको
बेनी १९ साउन । न्यु वेष्ट पोईन्ट आवाशिय माध्यमिक विद्यालयको आयोजनामा बेनीमा बिहीबारदेखि जिल्ला स्तरीय बालभेला सुरु भएको छ ।विद्यालयको रजत जयन्ती वर्ष २०७४ को अवसरमा आयोजित बालभेलामा म्याग्दीका विभिन्न २८ वटा माध्यमीक विद्यालयमा ९ र १० कक्षमा अध्ययन गर्ने ११ जना विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
बालबालिका, बालअधिकार कार्यान्वयन, शिक्षाको अवस्था, समस्या पहिचान र समाधानका लागि गर्न सकिने पहलको विषयमा छलफल गरीने बालभेला घोषणापत्र जारी गर्दै शनिबार सकिने विद्यालयले जनाएको छ ।भेलामा सहभागी बालबालीकाहरुलाई शिक्षा, बालअधिकार, ऐन नियम, ट्राफिक व्यवस्थापन, बाल दूव्र्यवहार नियन्त्रण सम्बन्धि कानुनी व्यवस्था, खेलकुद, स्वास्थ्य लगायतका विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।
बालबालीकाको चौतर्फी विकाससंगै योग्य र दक्ष नागरीक उत्पादन गर्न सहयोग गर्ने उद्देश्यले बालभेलाको आयोजना गरिएको विद्यालयका प्रिन्सीपल डाक्टर लाल रापचाले बताउनुभयो । बालभेलाका उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बालअधिकारको संरक्षण र सम्र्वद्धनमा सबै पक्ष संवेदनशिल बन्नुपर्ने बताउनुभयो ।
उहाँले बालबालीकाको पक्षमा बनेका ऐन नियमको कार्यान्वयनका लागि सरोकारवालाहरुबीच समन्वय, सहकार्यमा जोड दिनुभयो । बेनी नगरपालीकाका प्रमुख हरिकुमार श्रेष्ठले बालमैत्री स्थानीय शाषनको अवधारणालाई कार्यान्वयन गदै बालमैत्री वातावरण तयार गर्न प्राथमिकता दिइएको बताउनुभयो । सरकारी निकायले गर्नुपर्ने कार्यलाई निजी विद्यालयले सघाएर सहनीय काम गरेको सहभागीको भनाई थियो ।
न्यु वेष्ट पोईन्ट एजुकेशन फाउण्डेशनका अध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षता, शिक्षक कृष्ण जिसीको सञ्चालन र प्रिन्सीपल डाक्टर लाल रापचाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष तारानाथ शर्मा, विद्यालयका संस्थापक सञ्चालक सुर्दशनकुमार श्रेष्ठ र शिक्षक अभिभावक संघका सदस्य खुमा सापकोटाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
न्यु वेष्ट पोईन्टले स्थापनाको २५ वर्ष पुगेको अवसरमा चालु शैक्षिक सत्र २०७४ लाई रजत वर्षको रुपमा विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ । रजत जयन्ती वर्षको अवसरमा बेनीको कालीपुल स्थित बालमन्दिर आधारभुत विद्यालयको शैक्षिक सुधारका लागि सहकार्य गरेको विद्यालयले कम्प्युटर, प्रिन्टर लगायतका सामाग्री सहयोग गरेको थियो ।