यसरी सहमतीमै जिल्ला समन्वय समिति चयन भयो म्याग्दीमा
- १७ श्रावण २०७४, मंगलवार
- धिरन खत्री
- 2611 पटक पढिएको
म्याग्दी, १७ साउन । जिल्ला समन्वय समिति म्याग्दीको संयोजकमा एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलवार जिससको उम्मेदवारी दर्ताको समयभित्र जिससको संयोजक पदमा केसीको मात्रै उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो ।
जिसस गठनमा काँग्रेस र एमालेबिच प्रमुख र उपप्रमुखमा गोलापोला मार्फत टुंगो लगाउने र अन्य सदस्यहरुमा सबैलाई समेटेर जिससका सदस्यहरुको चयन गर्ने सहमती भएको थियो । मंगलवार मनोनयन दर्ताको पूर्वसन्ध्यामा नेपाली काँग्रेस र नेकपा एमालेबिच भएको सहमती अनुसार गोलापोला मार्फत एमालेको पक्षमा प्रमुख परेको थियो । गोलापोलामा एमालेलाई प्रमुख पद परेपछि एमालेको तर्फबाट जिसस संयोजक पदमा उम्मेदवार छनौट भएका केसीले दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो मनोनयन दर्ता गराउनुभएको थियो । त्यस्तै उपप्रमुखमा पनि एक जनाको मात्रै मनोनयन परेको छ ।
सहमतीमै उप–संयोजकमा काँग्रेसका लोकबहादुर मल्लको मात्रै उम्मेदवारी परेपछि उहाँपनि निर्विरोध हुनुभएको छ । जिसस म्याग्दीको संयोजकमा सर्वसम्मत हुनुभएका एमाले म्याग्दीका उपाध्यक्ष समेत रहेका केसी रघुगंगा गाउँपालिका–२ मा र उपसंयोजक मल्ल मालिका–१ मा उपलोकप्रिय मत ल्याएर वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसैगरि सदस्यहरुमा काँग्रेसबाट मेखबहादुर पुर्जा, खिमकुमारी पुर्जा, रामदेवी पुन, एमालेबाट बोमायाँ गर्वुजा, राप्रपाबाट हरिबहादुर शाक्य र सुकमायाँ छन्त्याल र माओवादी केन्द्रबाट शेरबहादुर केसीको मात्रै उम्मेदवारी परेपछि उहाँहरु पनि निर्विरोध चयन भएका छन् ।
काँग्रेस र एमालेले गोलापोला मार्फत ९ सदस्यीय गठन हुने समन्वय समितिको संयोजक र उपसंयोजकमा गोलापोला गर्ने र प्रमुख पाउनेले ४ सदस्य र उपप्रमुख पाउनेलाई ५ सदस्य सिट निर्धारण गरिएको नेपाली काँग्रेसका जिल्ला सदस्य माधवप्रसाद रेग्मीले बताउनुभयो । काँग्रेसले पाउने ५ सिटमा एक सदस्य सिट माओवादी केन्द्रलाई सहमतीमा छोडेको छ । एमालेले काँग्रेससंग गरेको सहमती अनुसार उम्मेदवारी दर्ता गर्ने ४ सदस्य मध्ये २ सदस्य पूर्व सहमती अनुसार राप्रपालाई दिएको एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो ।
दलहरुको सहमती अनुसार जिल्ला समन्वय समितिमा एमालेले संयोजक र एक सदस्य, काँग्रेसले उपप्रमुख र तिन सदस्य, राप्रपाले दुई सदस्य र नेकपा माओवादी केन्द्रले एक सदस्यले प्रतिनिधित्व गरेका छन् । जिल्लामा जिल्ला समन्वय समिति गठनको लागि ६ वटा स्थानीय तहका १२ जना मतदाता रहेको मध्ये काँग्रेसको ६, एमालेको ५ र राप्रपाको १ जना मतदाता रहेकाले कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि समन्वय गरि सर्वसम्मत रुपमा जिल्ला समन्वय समिति गठन गर्ने प्रकृया अपनाईएको हो ।
आज मनोनयन दर्ता र २० गते निर्वाचन गर्ने गरि कार्यतालिका प्रकाशित भएकोमा आजनै सर्वसम्मत रुपमा उम्मेदवारी दर्ता गरि निर्विरोध गराईएको हो । निर्विरोध निर्वाचित जिससका नवनिर्वाचित पदाधिकारीहरुलाई बुधवार पद तथा गोपनियताको सपथ ग्रहण गराउने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l