अन्नपूर्ण पदयात्राः ‘मनोरम झरना पर्यटकको आकर्षण बन्दै’

  • १२ जेष्ठ २०८०, शुक्रबार
  • 439 पटक पढिएको

कमल खत्री
बेनी , १२ जेठ । अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वन, जंगल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृष्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जनबढी यस्तै मनमोहक झरनाहरुको दृष्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।
हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरना लगायतका आधा दर्जनबढी मनमोहक झरना रहेका छन् । पदमार्गमा सबैभन्दा आकर्षणको रुपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । कडा चटानलाई बिचमा पानीको वहाबले काटेर झर्ने झरनाको पानीको दृष्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलो पटक झरनाको अवलोकनका लागि पुग्नुभएका आन्तरिक पर्यटक प्रदीप पुनले बताउनुभयो । ‘‘ सबै झरनाहरु पहाडबाटै बग्ने हुन, तर यो झरनाले पहाडलाई छेडेर निस्किए जस्तो देखिन्छ, झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ’’–पुनले भन्नुभयो । नीलगिरि र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकाँश पर्यटकले तस्विर र भिडियो खिचेर रमाउने गर्छन् । घना जंगल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृष्यले भुलाईदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताउनुभयो ।
यस झरनाकै अगाडी अन्नपूर्ण हिमशृङ्खलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूर्ण पदमार्ग अन्तरगत गुफा फाँटमा अन्नपूर्ण हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकहरुको लागि अर्को आकर्षणको रुपमा रहेको छ । अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँच वटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटकहरु खुसी भएर आवत जावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो ।
पदमार्ग अन्तरगत भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकहरुको अर्को आकर्षणको रुपमा रहेको छ । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकहरुको लागि अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन संगै मनमोहक झरनाको दृष्यावलोकन गर्न पाउनु प्रमुख आकर्षणको रुपमा रहेका छन् । झरनाहरुको परिसरमा पर्यटन पुर्वाधार निर्माण गरि प्रवद्र्धनमा आबश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, फुतफुते झरना वारपारको लागि अहिले रहेको झोलुङ्गे पुललाई मर्मत गर्न आबश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उहाँले जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्ग लगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकहरुको आगमन बढेको छ । नारच्याङदेखि हुमखोलासम्मको २० किलोमिटर दुरीमा सवारी साधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोटिएको छ ।