जलथलेको पहिरो पन्छाएपछि बेनी–जोमसोम सडकमा दुई दिनपछि सिधा सवारी

  • ८ श्रावण २०७४, आईतवार
  • कमल खत्री
  • 2563 पटक पढिएको

म्याग्दी, ८ साउन । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी –जोमसोम सडकखण्ड दुई दिनपछि सुचारु भएको छ । सडकखण्ड अन्र्तगत विभिन्न ठाउँमा खसेको पहिरोको कारण यस सडकमा दुई दिनदेखि सिधा सवारी अबरुद्ध बनेको थियो । बर्षाको कारण अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा माथिबाट खसेको पहिरो दुबै तर्फबाट डोजर लगाएर हटाएपछि अबरुद्ध सडक सुचारु भएकोे बेनी–जोमसोम–कोरला सडक आयोजनका सुपरभाईजर इन्द्रसिंह शेरचनले बताउनुभयो ।

  उहाँले बाटोमा थुप्रिएको पहिरो पन्छाएर अस्थायी रुपमा मात्रै अबरुद्ध सडक सुचारु भएको जानकारी दिनुभयो । थलथलेमा गुईठेभिरबाट निरन्तर पहिरो खसेको र साँघुरो सडक भएको कारण सडक अबरुद्ध हुँदा सर्वसाधारण वारपार गर्न समेत समस्या भएको थियो ।

आयोजनाले नेपाली सेनाको श्रीबक्स गुल्मको नारच्याङ स्थित बेसक्याम्प र दाना प्रहरी चौकीको रोहोबरमा अबरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि बेनीदेखि जोमसोम खण्डमा रोकिएका सवारी साधनहरु गन्तव्यतिर लागेका छन् । बर्खायाम सुरु भएसंग बेनी–जोमसोम सडक खण्ड नियमित जसो ठाउँ ठाउँमा खस्ने पहिरो र कालिगण्डकी नदी कटानबाट प्रभावित बन्दै आएको छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l