निर्वाचन अगाडी संविधान संशोधन हुन सक्दैनः पूर्व प्रम खनाल
- ७ श्रावण २०७४, शनिबार
- कमल खत्री
- 2255 पटक पढिएको
म्याग्दी, ७ साउन । नेकपा एमालेका बरिष्ट नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले निर्वाचन अगाडी संविधान संसोधन हुन नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवसको अबसरमा नेकपा एमाले म्याग्दीले आज बेनीमा आयोजना गरेको प्रबचन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले संविधान कार्यान्वयनको चरणमा मुलुक अगाडी बढीरहेको सन्दर्भमा तत्काल संविधान संसोधन गर्न नहुने बताउनुभयो । नयाँ संविधान पूर्ण नरहेको बताउँदै उहाँले स्थानीय, प्रदेश र राष्ट्रिय गरि तिनै चरणका निर्वाचन सम्पन्न भएपछि मात्रै संविधानलाई मुलुकको आबश्यकता अनुसार परिमार्जन गर्दै लैजानुपर्ने धारणा राख्नुभयो ।
‘‘संविधान संसोधन हुनु हुँदैन भन्ने हाम्रो मान्यता होईन, औचित्य र आवश्यकताको आधारमा संसोधन हुन्छ, संविधानमा धेरै कुरा थपघट गर्नुपर्ने छन्, तर यो समय संविधान संसोधनमा नभएर त्यसको कार्यान्वयनमा जुट्नुपर्ने समय हो,’’–नेता खनालले भन्नुभयो । उहाँले नयाँ संविधान कार्यान्वयनको आधारभुत चरणको रुपमा रहेको पहिलो र दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेमाथि जनताले देखाएको भरोसालाई पुरा गर्न जनप्रतिनिधिले जिम्मेवार भएर आफ्नो भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।
स्थानीय तह निर्वाचनपछि मुलुकको नेतृत्व एमालेको काँधमा आएको उल्लेख गर्दै उहाँले दुई नम्बर प्रदेशमा हुने निर्वाचनमा समेत एमाले पहिलो हुने दावि गर्नुभयो । कम्युनिष्ट पार्टीलाई गुठबन्धिबाट जोगाउनुपर्छ भन्ने स्वर्गीय नेता पुष्पलालको भनाई स्मरण गर्दै उहाँले गुठबन्दिलाई भत्काएर पार्टीलाई थप बलियो बताउन आबश्यक रहेको बताउनुभयो । नेपाललाई नवनिर्माण मार्फत आर्थिक, सामाजिक रुपान्तरणको निम्ती जनप्रतिनिधिहरुले पूर्वाधार निर्माण संगै गरिबी, बेरोजगारलाई उन्मुलन गर्ने योजना सहित सुखी नेपाली र समृद्ध नेपाल निर्माणमा जुट्नुपर्ने नेता खनालले बताउनुभयो ।
स्वर्गीय पुष्पलालले अंगीकार गरेको नितीले नेपालमा राणाशासनको अन्त्य गर्न सम्भव रहेको बताउँदै नेपालको कम्युनिष्ट, देशभक्त र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान महत्वपूर्ण रहेको नेता खनालले बताउनुभयो । पुष्पलालको दृष्टिकोणले नेपालमा कम्युनिष्ट आन्दोलनको सिद्धान्त बन्न सफल भएको उहाँको भनाई थियो । नयाँ संविधानले जनबादी क्रान्तिलाई संस्थागत गरेको बताउँदै उहाँले अबको आन्दोलन समाजवादका निम्ती हुने बताउनुभयो ।
राष्ट्रियता र लोकतन्त्रलाई बलियो बनाउने, संविधानलाई कार्यान्वयन गर्ने,मुलुकलाई नवनिर्माण गर्ने, मुलुकलाई सामाजिक तथा साँस्कृतिक रुपान्तरण गर्ने, आर्थिक समृद्धि हाँसिल गर्दै छिमेकी मुलुकहरुसंग समान तवरले सम्बन्ध स्थापित गर्नु मुलुकको लागि प्रमुख कार्यभार रहेको बताउनुभयो । एमाले उपाध्यक्ष देवेन्द्र केसीले स्वागत गर्नुभएको कार्यक्रममा स्वर्गिय पुष्पलालको तस्बिरमा फुल र अबिरले माल्यार्णपण समेत गरिएको थियो भने सचिब बालकृष्ण सुवेदीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l