धौलागिरीको र मंगला गाउँपालीकाको प्रथम गाउँसभा सम्पन्न
मंगला गाउँपालीकाले आफ्नै डोजर किन्ने
- ३० असार २०७४, शुक्रबार
- सन्तोष गौतम
- 2793 पटक पढिएको
बेनी, ३० असार । म्याग्दीको धौलागिरी र मंगला गाउँपालीकाको प्रथम गाउँसभा बिहीबार सम्पन्न भएको छ । गाउँसभामा केन्द्रिय संसदको झल्को दिनेगरी बजेट प्रस्तुत गरिएको थियो । मुनामा भएको धौलागिरीको गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले आगामी आर्थिक वर्ष २०७४७५ का लागि कुल २६ करोड ९३ लाख २७ हजार रुपैया बजेट बिनियोजन भएको सार्वजनीक गर्नुभएको थियो ।
सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीकरण, पर्यटकीय स्थलमा पूर्वाधार निर्माण लगायतका योजनालाई प्राथमिकता दिइएको गाउँपालीकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । निती तथा कार्यक्रममा गाउँपालीकाको सात वटा वडाको सम्भावनाको आधारमा एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
गाउँसभा अघि बुधबार बसेको कार्यपालीकाको बैठकले उपसमिति, बिभाग गठन गर्नुका साथै बजेट, निती तथा कार्यक्रम पेश गर्न स्वीकृती प्रदान गरेको थियो । यसैगरी बाबियाचौरमा भएको मंगला गाउँपालीकाको प्रथम गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले आगामी आर्थिक वर्षका लागि २८ करोड ९१ लाख रुपैया बजेट बिनियोजन भएको जानकारी गराउनुभयो ।
आम्दानीतर्फ वित्तिय समानीकरण अनुदान १३ करोड ६ लाख १८ हजार, ससर्त अनुदान ९ करोड ११ लाख ६५ हजार र आन्तरीक आम्दानी १५ लाख ५० हजार रुपैया रहेको छ । धौलागिरी र मंगला गाउँपालीकाले भौतिक पूर्वाधारका योजनामा उपभोक्ताले कुल लागतका दश प्रतिशत रकम बराबरको श्रमदान अनिवार्य गर्नुपर्ने नितीगत व्यवस्था गरेका छन् ।
विकास निर्माणमा जनसहभागीता जुटाउने र समुदायमा विकासप्रती अपनत्वको भावना जगाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो । उहाँका अनुसार गाउँपालीकामा रहेका खनीज सम्पदाको अन्वेषण, मंगला चक्रिय पर्यापर्यटन मार्ग, लघुव्यवसायको सम्भाव्यता अध्ययनका साथै एकिकृत सामाजिक परिवर्तनका लागि प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको छ ।
सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि प्रबिधिको प्रयोग र प्रत्येक टोलमा स्वास्थ्य परिक्षण केन्द्र स्थापना गरेर महिनाको एक पटक गाउँमै सेवा दिने र आयआर्जनका लागि टिम्मुर, चिराईतो र सतुवाको ब्यवसायीक खेती विस्तार गर्ने योजना रहेको छ ।
गाउँपालीका क्षेत्रको सडक निर्माण कार्य तथा स्तरवृद्धी योजनालाई सस्तो र व्यवस्थित बनाउन र स्तरवृद्धी कार्यका लागि आफ्नै डोजर खरिद गर्न एक करोड एक लाख ५० हजार रुपैया बजेट बिनियोजन भएको छ । गाउँपालीका भित्र वातावरणमैत्री चार वडा नमुना हरित सडक योजना निर्माणका लागि ९७ लाख रुपैया बिनियोजन भएको वडा न. ३ का अध्यक्ष कबिन्द्र रोकाले बताउनुभयो ।