भेडापालक कृषकहरुका लागि रु ७० लाख परिचालन (फोटो सहित)
- २५ असार २०७४, आईतवार
- कमल खत्री
- 4453 पटक पढिएको
म्याग्दी, २५ असार । जिल्ला पशु सेवा कार्यालय म्याग्दीले कालिगण्डकी क्षेत्रका भेडापालक कृषकहरुको लागि चालु आर्थिक बर्षमा रु ७० लाख बजेट परिचालन गरेको छ । पशु उत्पादन निर्देशनालय मार्फत प्राप्त कार्यक्रम अन्र्तगत भेडालाई घुम्ती गोठ तथा टहरा निर्माण, परजिवि नियन्त्रणको लागि पोखरी निर्माण, उन संकलन तथा विक्रि केन्द्र स्थापना, प्रजनन्योग्य थुमा वितरण लगायतको क्षेत्रमा सो बजेट परिचालन भएको जिल्ला पशु सेवा कार्यालयका बरिष्ट पशु चिकित्सक मनबहादुर पुनले बताउनुभयो ।
भेडापालनलाई थप व्यवसायिक बनाई जिल्लालाई उन र मासुमा आत्मनिर्भर गराउनका लागि टेवा पु¥याउने उदेश्यले पशु उत्पादन निर्देशनालय र केन्द्रिय भेडाबाख्रा प्रवद्र्धन कार्यालय मार्फत आएको उक्त कार्यक्रमबाट कालिगण्डकी भेडापालक स्रोत विकास केन्द्रमा आबद्ध कृषक लाभान्वित भएका छन् ।
सो बजेटबाट १० वटा गोठ निर्माणमा जनही रु २ लाख र १० वटा टहरा निर्माणमा रु ५० हजार गरि कुल रु २५ लाख अनुदान दिईएको थियो ।कार्यालयले दिएको अनुदान रकममा कृषकहरुले श्रमदान थपेर गोठ र टहरा निर्माण गरेको पाईएको जिल्ला पशु सेवा कार्यालयका पशु सेवा प्राविधिक डिल्लिराम रेग्मीले बताउनुभयो । उहाँले कृषकहरुलाई दिईएको अनुदानको पूर्ण सदुपयोग भएको अनुगमनको क्रममा भेटिएको समेत जानकारी दिनुभयो ।
उहाँका अनुसार, कार्यालयले यो बर्ष उक्त कार्यक्रम अन्र्तगत कालिगण्डकी करिडोरका भेडापालक कृषकहरुलाई २० वटा प्रजनन योग्य थुमा वितरणको लागि रु ६ लाख, भेडाको मासु विक्रि कक्षको लागि रु १ लाख, चरणमा जाने बाटो मर्मतमा रु ७ लाख, बिशालु झारपात हटाउन रु १ लाख ५० हजार, ऊन प्रशोधन तथा विक्रि कक्षको लागि रु ४ लाख अनुदान दिएको छ । कालिगण्डकी भेडापालक स्रोत विकास केन्द्रमा आबद्ध ६५ जना किसानहरुले अहिले ११ हजार ५ सय भेडा पालेका छन् ।
‘‘ जिल्लामा पहिलो पटक आएको यो कार्यक्रमबाट किसानहरुलाई उल्लेख्य सहयोग पुगेको पाएका छौँ, अनुदानलाई कृषकहरुले समेत श्रमदान थप गरि उपयोग गरेको भेटियो, आगामी बर्षहरुमा समेत यस्ता कार्यक्रमले निरन्तरता पाएमा भेडापालनतर्फ किसानहरुलाई थप आकर्षित र व्यवसायिक बनाउन सकिने देखिन्छ,’’–अनुदानको अनुगमनको क्रममा बाँदुक पुग्नुभएका पशु सेवा प्राविधिक रेग्मीले भन्नुभयो ।
कार्यालयले सो कार्यक्रम अन्र्तगत भेडापालक कृषकलाई परजिवि नियन्त्रण, आहारा विकास कार्यक्रम, समुह गठन तथा स्रोत केन्द्र स्थापना, अन्र्तक्रिया तथा कार्ययोजना निर्माण, किसान बस्ने टेन्ट निर्माणमा समेत सहयोग गरेको थियो भने सोलार टुकी, गमबुट, टर्चलाईट वितरण गर्ने तयारी भईरहेको कार्यालयका पशु विकास अधिकृत नरबहादुर बानियाँले जानकारी दिनुभयो ।
यस अघि भेडाहरुलाई खुलाचौरमा छाड्दै आएकोमा कार्यालयले गोठ र टहरा निर्माणमा अनुदान उपलब्ध गराएपछि अहिले भेडाहरु राख्ने गोठ निर्माण गरिसकेको रघुगंगा गाउँपालिका–१ बाँदुकका भेडापालक कृषक लक्षमण पुर्जाले बताउनुभयो । ‘‘ भैले भर्खरै मात्रै भेडापालन थालेको हुँ, दुई भाई मिलेर ३८ लाख लगानीमा भेडापालनमा लागेका हामीलाई पशु सेवा कार्यालयको अनुदान सहयोगले थप उत्साहित बनाएको छ’’–पुर्जाले थप्नुभयो ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l