पिसिआर परीक्षणको माग गर्दै गण्डकीमा सत्ता पक्षबाटै संसद अवरुद्ध
- १४ बैशाख २०७८, मंगलवार
- 862 पटक पढिएको
पोखरा । गण्डकी प्रदेश सरकारले अविश्वास प्रस्तावको प्रक्रियालाई अल्मल्याउन नयाँ चाल चलेको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी छलफलका लागि बोलाइएको विशेष अधिवेशनको दोस्रो दिन सत्ता पक्षका सांसदले बैठक अवरुद्ध गरेका छन् ।
मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ नेकपा एमालेका सांसदले आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् । उनीहरुले कोरोना संक्रमण बढेको भन्दै प्रदेशसभा कर्मचारी तथा सांसदहरुको पिसिआर परीक्षण गरेरमात्र बैठक सञ्चालन गर्न माग गरेका छन् ।
अविश्वास प्रस्ताव प्रक्रियामा गइसकेको र चार विपक्षी दल मिलेर त्यसलाई पारित गर्ने निश्चित भइसकेको अवस्थामा अत्तालिएर सत्ता पक्षले प्रदेशसभाको विशेष अधिवेशनलाई अलमल्याउनका लागि यस्तो माग गरेको उनको भनाइ छ ।
उल्लेखनीय छ, सोमबार बसेको विशेष अधिवेशनको पहिलो बैठकको सुरुवातमा पनि सत्ता पक्षले संसद अवरुद्ध गरेको थियो । सभामुखले समय दिएपछि एमालेका सांसदले पिसिआर परीक्षण गरेरमात्र बैठक सञ्चालन हुनुपर्ने माग गरेका थिए । यद्यपि त्यसपछि बैठक सञ्चालन भएको थियो ।
विशेष अधिवेशनको दोस्रो दिन अविश्वास प्रस्तावमाथि सांसदहरुले बोल्ने कार्यसूची छ । तर बैठक सुरु भएलगत्तै सत्ता पक्षले अवरोध गरेपछि केहीबेरका लागि बैठक स्थगित गरिएको छ । बैठक सञ्चालन गर्नेबारेमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको बताइएको छ ।
राताेपाटी डटकमबाट साभार ।