सरसफाई सप्ताह सुरु, वातावरण दिवसको अवसरमा वृक्षारोपण
- २२ जेष्ठ २०७४, सोमबार
- सन्तोष गौतम
- 2603 पटक पढिएको
बेनी २२ जेठ । म्याग्दीमा सोमबारदेखि १८ औ राष्ट्रिय सरसफाई सप्ताह सुरु भएको छ । यसैगरी सोमबारनै बिभिन्न कार्यक्रम गरेर ४७ औ विश्व वातावरण दिवस मनाइएको छ ।
जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति र वास पत्रकार मञ्चको आयोजनामा सरसफाई सप्ताहको अवसरमा बेनीको कालीपुल बसपार्क क्षेत्रमा सरसफाई गरीएको छ ।
सरसफाई कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, कर्मचारी, राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नेपाली सेना, प्रहरी र टोल सुधार समितिले सहभागीता जनाएका थिए । सार्वजनीक स्थलमा फालीएका फोहोर संकलन गरी व्यवस्थापन गर्नुका साथै स्थानीय बासिन्दालाई सरसफाईप्रती सचेत रहन अनुरोध गरीएको थियो ।
सरसफाई कार्यक्रमको बेनी नगरपालीका ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले समापन गर्नुभएको थियो । यसैगरी बेनीको लिटील गार्डेन एकेडेमीले वातावरण दिवस तथा सरसफाई सप्ताहको अवसरमा म्याग्दी र कालीगण्डकी नदीको तटीय क्षेत्रमा सरसफाई गरेको छ ।
दरवाङ बसपार्कमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक विश्वप्रकाश रेग्मी, स्रोत व्यक्ति मोहन बानिया र संस्थापक निर्देशक बालकृष्ण सुवेदीले सुभारम्भ गर्नुभएको सरसफाई कार्यक्रम कालीपुल पुगेर सकिएको थियो ।
यसैगरी विश्व वातावरण दिवसको अवसरमा बेनीमा प्रभातफेरीका साथै बेनपा ६ को थाकन भालुखोला, बेनपा ८ को न्यु वेष्ट पोईन्ट आवासीय मावि परिसर र खैरेनी सामुदायीक वन क्षेत्रमा छुट्टा छुट्टै टोलीले वृक्षारोपण गरेका छन् ।
जिल्ला वन, भुसंरक्षण कार्यालय र न्यु वेष्ट पोईन्ट आवाशिय माविले आयोजना गरेको वृक्षारोपण कार्यक्रमको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले सुभारम्भ गर्नुभएको थियो । यसैगरी बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पस परिसरमा विद्यार्थीहरुले सरसफाई गरेका छन् ।
म्याग्दीमा खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय, जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना, उपभोक्ता समितिको आयोजनामा साताब्यापी कार्यक्रम गरेर सरसफाई सप्ताह मनाइने जनाइएको छ ।
यसैगरी वातावरण दिवसको अवसरमा विभिन्न सामुदायीक वन उपभोक्ता समूह, संघ संस्थाहरुले पनि वृक्षारोपण लगायत जनचेतनामुलक कार्यक्रम गरेका छन् । सरसफाई सप्ताह र वातावरण दिवसको यस वर्षको नारा “देशलाई खुला दिसा मुक्त गर्नुछ २०१७ भित्र, सवल, सक्षम र जिम्मेवारी छ–हाम्रो नेतृत्व, प्रकृतीसंग हाम्रो सम्बन्ध रहिरहोस अनन्त” भन्ने रहेको छ ।