प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध म्याग्दी कांग्रेसद्धारा ६ वटै पालिकामा विरोध प्रदर्शन

  • ३ माघ २०७७, शनिबार
  • 1167 पटक पढिएको

बेनी ३ माघ । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीकासबै पालिकामा विरोध प्रदर्शन गरेको छ । विभिन्न ठाउँमा भएको विरोध सभालाई जिल्ला सभापति खम बहादुर गर्बुजा सहित जिल्लाका नेताहरुले सम्बोधन गर्दै संसद पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै सहभागिता जनाउन आग्रह गरेका थिए । उनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले जनमतको अपमान गरेको समेत आरोप लगाए । उनिहरुले कोरोना कहरमा जनताको ज्यान बचाउन छोडेर सत्तापक्ष नेकपाले आन्तरिक भागबन्दाको कचलोमा फसेको समेत आरोप लगाए ।

मंगला गाउँपालिकाको बाबियाचौरमा भएको विरोध सभालाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले प्रधानमन्त्री ओली सरकारले संविधानको मर्म र भावना विपरित कदम चालेकाले विरोध गर्नुपरेको बताउनुभयो । उहाँले ओलीले देशलाई अस्थिरता दोहो¥याउन खोजेको आरोप लगाउनुभयो । राष्ट्रपति र प्रधानमन्त्री मिलेर संसद विघटन गरेर जनमतको अपमान र संविधानको हत्या गर्न लागिपरिहेको सभापति गर्बुजाको ठहर छ । सभापति गर्बुजाले संविधानको रक्षाको सबै एक हुन पनि आह्वान गर्नुभयो ।यसैगरी ,बेनी नगरपालिकामा भएको विरोध सभालाई सम्बोधन गर्नुहुँदै निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाउनुभयो ।

मालिकामा नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन  श्रेष्ठ र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर ,मंगला गाउँपालिकामा सभापति गर्बुजा सहित सचिव क्याप्टेन मिन बहादुर कार्की ,महासमिति सदस्य चिरञ्जीवि शर्मा जिल्ला सदस्य बलभद्र ढकाल लगायत प्रदेशसभा र गाउँपालिका कार्यसमितिका प्रतिनिधिले सम्बोधन गरेको थिए । बेनी नगरपालिकाको विरोध सभालाई सचिव तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ ,नेपाल महिला संघ म्याग्दीकी सभापति विमला गौचन ,नगर सभापति अनोद श्रेष्ठ ,किसान संघ म्याग्दीका सभापति सम्मरबादुर केसी ,तरुणदल सचिव सुमन बनियाँ ,विद्यार्थी संघका सभापति निर्मल खत्री लगायतले सम्बोधन गरेका थिए ।

अन्नपुर्ण गाउँपालिकाको विरोध सभालाई पुर्व जिल्ला सहसभापति नेत्रबहादुर महत , जिल्ला कार्यसमिति सदस्य केबी भण्डारी,ओम छन्त्याल र नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष हिराबहादुर पुन ,रघुगंगामा उपसभापति माधवप्रसाद रेग्मी र गाउँपालिकाका अध्यक्ष भवबहादुर भणडरी ,धवलागिरी गाउँपालिकामा सह–सचिव भरतबहादुर रकाल ,गाउँपालिका इकाई सभापति प्रेम पुन र सचिव नगेन्द्र मल्ल लगायतले सम्बोधन गरेका थिए ।