पदमार्ग बनाउन जंगलमै बास

  • २२ जेष्ठ २०७६, बुधबार
  • 3053 पटक पढिएको

सन्तोष गौतम
बेनी २२ जेठ । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग स्तरोन्नतीको काम नारच्याङबासी जंगलमै बास बसेर सुरु गरेका छन् । ट्याक मात्र खोलिएको अवस्थामा रहेको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङ देखि आधार शिविर जोड्ने पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन स्तरोन्नती गर्न लागेका हुन् ।


एक हप्ताअघि निलगिरी र अन्नपूर्ण खोलाको दोभानमा पर्ने हुमखोलादेखि पदमार्ग निर्माण सुरु भएको थियो । बस्ती देखि टाढा र भौगोलिक रुपमा विकट ठाउँमा पदमार्ग बनाउन गाउँबाट आवत जावत सम्भव नभएकाले जंगलमै बास बसेर काम गरिएको मजदुर लालबहादुर शेरपुञ्जाले बताए । ‘बाटो बनाउने ठाउँदेखि गाउँ पुग्न पुरै दिन हिड्नुपर्छ,’ शेरपुञ्जाले भन्नुभयो ‘घरबाट आउ सम्भव नभएपछि ओदार र त्रिपालको टहरा बनाएर जंगलमै बास बसेका हौ ।’


उपभोक्ता समिति मार्फत पदमार्ग निर्माणमा २९ जना मजदुर परिचालन भएका छन् । पर्यटकको सुबिधा र गाउँको पर्यटन विकासका लागि दुखकष्ट सहेर पदमार्ग निर्माणमा जुटेको अर्का मजदुर केशमान पुर्जाले बताउनुभयो । घरपरिवार र आफन्तजनसंग पनि सञ्चार सम्पर्क छैन् । निलगिरि ओदारमा एक सातासम्म बसेर करिब दुई किलोमिटर पदमार्ग बनाएका उनिहरु केही माथि गुरासे ओदारमा सरेका छन् ।खाना र खाजा खाने समय बाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म पदमार्ग बनाउन तल्लीन हुन्छन् । ‘पर्यटक आउलान, उनिहरुलाई सुबिधा होला भनेर अक्करे पहाडमा जोखिम मोलेर बाटो बनाउन लागेका हौ,’ उपभोक्ता समितिका अध्यक्ष रामबहादुर गर्बुजाले भन्नुभयो ।

पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट बीस लाख र गाउँपालिकाले तीन लाख रुपैयाँ बिनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवत जावतका लागि स्तरोन्नती गर्न लागिएको अर्को उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पूर्जाले बताउनुभयो । गर्बुजा गाउँपालिका र पुर्जा पर्यटन विभागले बिनियोजन गरेको बजेट परिचालनका लागि गठित उपभोक्ता समितिका अध्यक्ष हुन् । हुमखोला देखि आधार शिविर सम्म करिब १५ किलोमिटर पदमार्गलाई यसै आर्थिक वर्षभित्र फराकिलो बनाउने र सिढी निर्माण गर्ने लक्ष्य छ ।


दुई/दुई वटा वटा झोलुङ्गे पुल र आश्रयस्थल बनाउन लागिएको छ । अक्करे पहाड काटेर मानिस हिड्ने बाटो बनाएका छन् । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको दश लाख रुपैयाँ सहयोगमा छोटेपा र आधार शिविरमा दुई वटा आश्रयस्थल बनाउन लागिएको संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले जानकारी दिनुभयो । उनका अनुसार प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयको १५ लाख रुपैयाँ सहयोगमा मिस्त्रीखोला क्याम्प र फुतफुते झरना क्षेत्रमा झोलुङ्गे पुल निर्माण हुदैछ् । १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्गोजले पहिलो पटक आरोहण गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग २०६८ मा स्थानीयको पहलमा पहिचान भएको हो ।

यसअघि पदमार्ग नहुँदा मुस्ताङको ताउलुङ हुदै पाँच देखि सात दिन लगाएर जोखिमयुक्त बाटो भएर पर्यटकहरु आधार शिविर पुग्ने गर्दथे । पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । पर्यटक भने हेलीकप्टर चार्टर गरेर सिधै आधार शिविर पुग्छन् । पदमार्ग स्तारोन्नती, पुल, क्याम्पीङ साईट, आश्रयस्थल लगायत पूर्वाधार तयार पारेर पर्यटकलाई पनि पैदलमार्गबाट आधार शिविर जाने वातावरण बनाउन पहल गरिएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो ।
पदमार्ग खुलेपछि नारच्याङदेखि तीन दिनमै अन्नपूर्ण आधार शिवीरमा पुगीने भएको छ । पछिल्लो याममा तीन समूहले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका छन् । यो पदमार्ग अन्नपूर्ण आधार शिवीर पुग्ने सबैभन्दा छोटो भएको एक्यापका संरक्षण तथा सूचना अधिकृत ऋषी बरालले बताउनुभयो ।
‘पुराना पदमार्ग सडकका कारण विस्थापीत भएको अवस्थामा नारच्याङ–अन्नपूर्ण बेसक्याम्प भर्जिन गन्तब्य हो,’ बरालले भन्नुभयो ‘समुदायले व्यवस्थापन र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्छ ।’ समथर फाँटा निलो तलाउ । तलाउ नजिकै उभिएका अग्ला हिमाल । सूर्योदयले चम्केका सेताम्मे हिमाललाई आँखाले चौफेरो लगाउन पाउनु अन्नपूर्ण आधार शिवीरको प्रमुख बिशेषता हो ।
अग्ला पहाड हुदै झर्ने झरना, जंगली जनावर, चराचुरुङ्गी, वनस्पती, जडीवुटी र मनमोहक हिमाल अवलोकन गर्न पाउँदा दंग परेको आधार शिविर पुगेर फर्किएका बेनीका अमर बानियाले बताउनुभयो ।