मुस्ताङको कागबेनीमा बस दुर्घटना, ३ को घटनास्थलमै मृत्यु

  • ९ बैशाख २०७४, शनिबार
  • 4538 पटक पढिएको

मुस्ताङ, ९ वैशाख । जोमसोमबाट मुक्तिनाथ जाँदै गरेको तीर्थयात्री सवार बस कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ ।

शनिबार बिहान मुस्ताङ सदरमुकाम जोमसोमबाट मुक्तिनाथका लागि छुटेको ना ५ ख ६०६७ नम्बरको बस कागबेनीभन्दा २ किलोमिटर अघि दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ११ जना भन्दा बढी घाईते भएका छन् ।


घटनास्थलमै मृत्यु भएकाहरुको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । घटनाको खबर पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्दारका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरिक्षक हरिहर योगीले जानकारी दिनुभयो ।

२६ जना सवार बसमा अन्य सामान्य घाईते भएको बताईएको छ । “घाइतेहरु सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याईदैछ, दुर्घटनास्थलमा डोजरको सहायताले बस र शब उठाउने काम भईरहेको छ”, उहाँले भन्नुभयो । मुक्तिनाथ दर्शनको सिजन भएकाले यतिबेला आन्तरिक तथा बाह्य तीर्थयात्रीहरु त्यहाँ पुग्ने गरेका छन् । दुर्घटनामा अधिकाँश तीर्थयात्री परेको प्रहरीले जनाएको छ । तस्बिरः मनविर किसानको फेसबुकबाट