प्रवासीसंगको साझेदारीमा बेनी–लभ्लीहिल पदमार्ग निर्माण सुरु
- ८ भाद्र २०७५, शुक्रबार
- सन्तोष गौतम
- 3499 पटक पढिएको
म्याग्दी ८ भदौ । बेनी नगरपालीका २ स्थित पर्यटकीय स्थल लभ्लीहिल जोड्ने पदमार्ग निर्माण कार्य सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको साझेदारीमा निर्माण हुन लागेको बेनीको हाँडेभिर देखि लभ्लीहिल जोड्ने पदमार्गको शुक्रबार शिलन्यास गरिएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठ, मोनाका पदमार्ग निर्माण समितिका संयोजक समेत रहेका उपाध्यक्ष ओमनारायण जुक्जाली र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले शिलन्यास गरेका हुन् । प्रवासीलाई समेत साझेदार बनाएर नयाँ अवधारणामा सञ्चालन गर्न लागिएको योजनालाई मोना बेनी लभ्लिहिल पदमार्ग योजना नामाकरण भएको छ ।
म्याग्दी भ्रमण वर्ष २०७५ को अवसरमा सरकारी निकाय, निजी क्षेत्र र प्रवासीको साझेदारीमा पर्यटन पूर्वाधार योजना अन्तरगत पदमार्ग निर्माण गर्न लागिएको उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले बताउनुभयो । ५७ लाख आठ हजार २६० रुपैया लागत अनुमान गरिएको ५१८ मिटर लम्बाई र १.८ मिटर चौडाई भएको दायाँबाया दुवैतर्फ रेलीङ सहितको पदमार्ग आगामी छ महिनाभित्र निर्माण सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गरिने पदमार्ग निर्माण समितिका संयोजक समेत रहनुभएका कर्माचार्यले बताए ।
नगरपालिका, मोना र संघले क्रमश पचास, चालीस र दश प्रतिशत लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । मोना र उद्योग वाणिज्य संघले गैरनाफामुलक उद्देश्यले पदमार्ग निर्माण योजनामा सहयोग गरिएको बताएका छन् । पूर्वाधार पूर्वाधार निर्माण गरी जिल्लाका आर्थिक विकासमा योगदान गर्ने उद्देश्यले विश्वका विभिन्न देशमा रहेका म्याग्देलीहरुबाट सहयोग संकलन गरेर उपलब्ध गराइने मोनाका उपाध्यक्ष जुक्जालीले बताए ।
“आफ्नो ठाउँको विकासमा सहयोग पुगोस भनेर गैरनाफाको उद्देश्य राखेर सहयोग गरेका हौ” जुक्जालीले भने “म्याग्दीको जलविद्युत, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रवासीहरुबाट सामुहिक लगानी भित्र्याउन मोनाले प्रयास गरिरहेको छ । सरकारले अनुकल निती, वातावरण र सुरक्षाको प्रबन्ध मिलाउनुपर्छ ।”बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नमुना योजनाको रुपमा प्रवासी र निजी क्षेत्रसंग त्रिपक्षिय साझेदारी गरेर पदमार्ग निर्माण गर्न लागिएको बताए । पदमार्गले बेनीको पर्यटन विकासमा महत्वपूर्ण सहयोग पुग्ने नगरप्रमुख श्रेष्ठको अपेक्षा छ ।
बेनीको दक्षिणी मोहोडाको शिरमा रहेको उकालोमाबिस मिनेट हिडेपछि पुगीने लभ्लीहिलमा गत वर्ष बेनी नगरपालीका र पर्यटन कार्यालयको सहयोगमा रेलीङ र गोलघर (प्रतिक्षालय) निर्माण भएको थियो । यस वर्ष नगरपालिकाकोपाँच लाख अनुदानमा मिटर ९० मिटर रेलीङ निर्माण गरिएको लभ्लीहिल पूर्वाधार विकास समितिका अध्यक्ष धु्रबराज कार्कीले बताए । पदमार्ग निर्माण भएपछि पर्यटक आगमन बढ्ने उनले बताए ।
आरामदायी बेन्च र गोलघरबाटै म्याग्दी नदी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजार, पर्वतबेनीसँगै म्याग्दी र पर्वतका विभिन्न ग्रामीण गाउँबस्तीलाई एकैठाउँबाट अवलोकन गर्न सकिन्छ । गलेश्वरदेखि कालीगण्डकीको मनमोहक दृष्य, धौलागिरिलगायतका मनोरम हिमालको चुचुरो, चौफेरै देखिने हरियाली र आकर्षक भू–बनोट अवलोकनका लागि लभ्लिहिल पुग्नेहरुको संख्या बढ्दै गएको वडा अध्यक्ष हिराबहादुर थापाले बताए ।