म्याग्दीलाई हिमाली जिल्लामा सुचिकृत गर्न साँसद थापाद्धारा सरकारको ध्यानकर्षण (भिडियो सहित)
- ७ भाद्र २०७५, बिहीबार
- कमल खत्री
- 3239 पटक पढिएको
म्याग्दी, ७ भदौ । म्याग्दीलाई हिमाली जिल्ला कायम गर्न चौतर्फि पहल भएको छ । संसारको सातौ अग्लो धौलागिरी हिमाल (८,१६७ मिटर) सहित दर्जनौ हिमशृङ्खला भएको म्याग्दीलाई हिमाली जिल्लाको रुपमा कायम गराउन पहल थालिएको हो । संघिय संसदको विहिवार बसेको संसद बैठकमा बिशेष समय लिएर बोल्दै म्याग्दीका सांसद भुपेन्द्र बहादुर थापाले हिमाली जिल्ला घोषणाको लागि म्याग्दीको हरेक आधार रहेको भन्दै सरकारको ध्यानकर्षण गराउनुभएको थियो । उहाँले जिल्लामा रहेका तिन वटा स्थानीय तह धौलागिरी, अन्नपूर्ण र रघुगंगा गाउँपालिका हिमालले समेटीएको र जिल्लाभित्र धौलागिरि, अन्नपूर्ण, निलगिरी, गुर्जा र चुरेन लगायतका हिमाल अवस्थित रहेकाले म्याग्दीलाई हिमाली जिल्ला कायम गराउन सरकालाई आग्रह गर्नुभयो ।
पूर्ववत सरकारले म्याग्देलीहरुको भावना र माग सम्बोधन नगरेको भन्दै उहाँले म्याग्दीलाई अबिलम्ब हिमाली जिल्लामा कायम गर्न माग गर्नुभएको थियो । हालै बसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले समेत म्याग्दीलाई हिमाली जिल्ला कायम गराउन संघिय सरकार समक्ष माग गर्ने निर्णय गरेको थियो । म्याग्दीको दोस्रो जिल्ला सभाको उद्घाटनको क्रममा साउन अन्तिम साता म्याग्दीमा आउनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई म्याग्दीका प्रतिनिधि सभा साँसद थापा, प्रदेश सभा सदस्य एवम सामाजिक विकास मन्त्री नरदेवी पुन, प्रदेश सभा सदस्य विनोद केसी, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी लगायतले जिल्लालाई हिमाली क्षेत्रमा सुचिकृत गर्न आबश्यक पहलको लागि अनुरोध गर्नुभएको थियो ।
प्रदेश सभाको बैठकमा समेत प्रदेश सभा सदस्य केसीले यस अघि जिल्लालाई पहाडी जिल्लामा सुचिकृत गरिँदा हिमाली भेगमा रहेका नागरिकहरुले आफ्नो सेवा सुविधाबाट नै बञ्चित हुनुपरेको भन्दै प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको थियो । म्याग्दीको जिल्ला समन्वय समितिको पहिलो बैठकले नै जिल्लालाई हिमाली जिल्ला कायम गराउन सम्बन्धित निकायमा माग गर्ने र पहल गर्ने निर्णय गरेको थियो । म्याग्दीमा विश्व प्रसिद्ध धौलागिरि, अन्नपूर्ण प्रथम, चुरेन, गुर्जा, मानापाथी, पुठा, बराह शिखर, लगायतका दर्जनौ हिमशृङ्खला रहेपनि म्याग्दीलाई अहिलेसम्म पनि पहाडी जिल्लाको रुपमा सुचिकृत गरिएको कारण हिमाली जिल्लाको रुपमा कायम गराउन चौतर्फि पहल भएको छ ।
जिल्लाको बढी भुभाग हिमक्षेत्र भित्र पर्ने भएपनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अनुसुची १ मा म्याग्दीलाई पहाडी जिल्लाको रुपमा राखिनु त्रुटीपूर्ण रहेकाल हिमाली जिल्लाकै रुपमा कायम गराउन पहल गरिएको जिल्ला समन्व्य समितिका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो । ‘‘ हिमालै हिमालले घेरिएको जिल्लाको बास्तविक पहिचान नै ओझेलमा परेको छ, जिल्लाको हिमाली पहिचान खोसिँदा विकास निर्माण देखि राज्यका महत्वपूर्ण अवसरहरुबाट समेत बञ्चित हुनुपर्ने विडम्बनाको अन्त्य गर्न पहल गरेका छौँ,’’–जिसस प्रमुख केसीले भन्नुभयो ।
जिल्लाको दुई गाउँपालिकाको नामाकरण समेत हिमालकै नामबाट गरिएको छ । मुदीमा अवस्थित संसारको सातौ अग्लो धौलागिरि हिमालबाट धौलागिरि गाउँपालिका र नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालबाट अन्नपूर्ण गाउँपालिका नामाकरण गरिएको छ । धौलागिरि गाउँपालिका–४ मुदीमा धौलागिरी प्रथम देखि छैटौँ सम्मका पिक रहेका छन् । मानापाथी हिमालको चुचुरो समेत मुदीमै पर्छ । धौलागिरी हिमालले रघुगंगा गाउँपालिकाको कुइनेमंगले र चिमखोलालाई समेत समेटेको छ ।
जिल्ला सदरमुकाम बेनी देखि २६ कोष टाढाको दुरीमा रहेको धौलागिरि गाउँपालिका–१ गुर्जामा गुर्जा, गुर्जा पश्चिम, चुरेन र पुथा हिमाल रहेका छन् । पुथा हिमाल म्याग्दीको गुर्जा, डोल्पा र रुकुमको सिमानामा पर्छ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अन्नपूर्ण प्रथमको आधार शिविर नै रहेको छ । बराह शिखर हिमाल समेत रहेको नारच्याङमा निलगिरि हिमालको दक्षिण र पूर्वि मोहोडा समेत पर्छ । अन्नपूर्ण गाउँपालिका –५ शिखको पाउद्धार तर्फको लेकले अन्नपूर्ण दक्षिण भेगलाई समेटीएको छ । यिनै हिमाल संगै म्याग्दीमा दर्जनौ हिमालका चुचुराहरु रहेका छन् । हिमालै हिमाल भएको म्याग्दी जिल्ला अहिलेसम्म भने पहाडि जिल्लाको रुपमा सुचिकृत छ । म्याग्दीलाई हिमाली क्षेत्रमा समाबेश गर्न नसक्नु नितिगत र प्रकृयागत त्रुटी मात्रै नभएर भौगोलिक विभाजनमा गरिएको गम्भिर कमजोरी र अन्याय भएको यहाँका सरोकारवालाको गुनासो छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l