बेनीमा दुई सय बर्ष पुरानो ‘बर्खेनाच’ को रौनकता (भिडियो सहित)

  • ७ भाद्र २०७५, बिहीबार
  • 4176 पटक पढिएको

म्याग्दी, ७ भदौ । बेनीमा एक महिना लामो ‘बर्खेचान’को रौनकता छाएको छ । बेनीमा बस्ती बसेदेखि नै सुरु भएको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउन थालिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा चिनिने भएपनि पछिल्लो समय यो नाचमा अन्य जाती र समुदायका व्यक्तिहरुले समेत सहभागीता जनाउन थालेका छन् । नेपाल भाषा मंकाःखलः को मुल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिन साउन १४ गतेदेखि देखाउन सुरु भएको बर्खेनाच अन्र्तगत बेनीमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच प्रर्दशन गर्न थालिएको छ । बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ ।

परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारहरुले बर्खेनाचमा अभिनय सहित नृत्य देखाउने गर्छन् । यस बर्ष भदौ २७ गते हरितालिका तिजको दिनसम्म बेनीको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेचान अन्र्तगत विभिन्न नाचहरु देखाउन थालिएको मंका ः खल अन्र्तगतको युवाहरुको समुह ल्याम पुचका अध्यक्ष सुविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘‘ अहिले पछिल्लो समय बर्खेनाच बेनीमा लोकप्रिय बनीरहेको छ, बिचमा केही समय नाचहरु नै लोपहुने अबस्थामा थिए, पछि युवापुस्ताहरु समेत परम्परागत नाच शिक्ने थालेपछि अहिले पुराना नाचहरु संरक्षणमा समेत टेवा पुगेको छ’’–उहाँले भन्नुभयो ।

बेनीमा बसोबास भएदेखिनै बर्खेनाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । बर्खेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखेनाच प्रदर्शन पच्चात साँझ गणेश मन्दिर परिसरमा ‘तरबार लडाई नृत्य’मा श्रीकृष्णको रुप धारण गरेका कलाकारले लाखेको मुकुण्डोलाई बध गरेपछि बर्खेनाच समापन गर्ने चलन रहेको छ ।

परापूर्वकालदेखि चल्दै आएको बर्खेनाचलाई पुस्ता हस्तान्तरण गरि नयाँ पुस्तामा समेत निरन्तरता दिनको लागि हरेक बर्ष देखाउँदै आईएको नेपाल भाषा मंकाः खलःका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताउनुभयो । उहाँले विभिन्न निकायसंग समन्वय गरि नयाँ कलाकार उत्पादनको लागि तालिमहरु समेत दिन थालेपछि बर्खेनाच थप जागेको समेत बताउनुभयो । ऐतिहाँसिक महत्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् ।