आमा समूहद्वारा आर्थिक सहयोग

  • ६ भाद्र २०७५, बुधबार
  • 1523 पटक पढिएको

म्याग्दी, ६ भदौ । पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा क्रियाशिल महिला सुधार आमा समूहले बुधबार आर्थिक सहयोग गरेको छ । समूहका सदस्य मनमाया गिरीको श्रीमान् टेकबहादुर गिरीको असामयिक निधन भएको १३औं दिनको पुण्यतिथिमा आमा समूहले नगद तीनहजार ३३३ रुपैयाँ गिरी परिवारलाई सहयोग हस्तान्तरण गरेको हो ।


समूहका अध्यक्ष भद्रकली जैसीले सदस्य मनमाया गरीलाई नगद हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमको अवसरमा स्वर्गीय टेक गिरीको सम्झनामा श्रद्धाञ्जली सभाको समेत आयोजना गरिएको थियो । स्व. गिरीका ५ ओटी छोरीहरु रहेका छन् ।

दुःख पीडा परेको अवस्थामा पीडित परिवारका छोरीहरुको शिक्षामा सघाउने उद्देश्यले थोरै भए पनि आर्थिक सहयोग उपलब्ध गराइएको महिला सुधार आमा समूहले जनाएको छ । आमा समूहले विभिन्न कारणले अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ ।