फलाेअप : कालीगण्डकीले कोप्चेपानीमा विद्यालय भवन बगायो, ८ घरधुरी विस्थापित (फोटो फिचर)

  • ३० श्रावण २०७५, बुधबार
  • 3109 पटक पढिएको

म्याग्दी, ३० साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ४ कोप्चेपानी स्थित धवलागिरी आधारभुत विद्यालयको कक्षा कोठा भवन कालीगण्डकीले बगाएको छ । बर्षासंगै कालीगण्डकी नदीमा आएको भेलले धार परिवर्तन गरेर कटान गर्दा मंगलबार राती छ कोठे कक्षा कोठा भवन बगाएको व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले दिनुभयो ।

कक्षा ३ सम्म पठनपाठन हुने विद्यालयमा बिस जना विद्यार्थीहरु अध्ययनरत छन् । केही दिन देखिको निरन्तरको बर्षासंगै कालीगण्डकी नदीमा आएको बाढीले करिब चालीस मिटर बस्तीतर्फ कटान गरेर भवन बगाएको हो । पाँच दिन अघि कालीगण्डकीले धार परिवर्तन गरेर कटान सुरु गरेको थियो ।

नदी कटानका कारण विद्यालय बगाउनुको साथै कोप्चेपानीको बस्ती जोखिममा परेको जिल्ला समन्वय समितिका सदस्य मेख गर्वुजाले जानकारी दिनुभयो । उहाँका अनुसार कोप्चेपानीमा रहेका २४ घरधुरी मध्ये ८ घरधुरी उच्च जोखिममा रहेकाले उनीहरु विस्थापित भएका छन् । कालीगण्डकीको नदीको कटानले जनजागृति आमा समुहको भवन, स्थानीय मन्दिर समेत जोखिममा परेको छ ।

कालीगण्डकीको जोखिम र कटानले पु¥याएको क्षतीको बारेमा गाउँपालिका, जिल्लाविपद् व्यवस्थापन समितिलाई जानकारी गराएको वडा अध्यक्ष चन्द्रप्रकाश फगामीले जानकारी दिनुभयो । विद्यालय भवन बगाएपछि पठनपाठन प्रभावीत हुने भएकाले कक्षा सञ्चालनका लागि बैकल्पीक व्यवस्थाको खोजी भैरहेको छ । त्यसैगरि अन्नपूर्ण गाउँपालिका–२ गुईठेभिर नजीकै सडक माथि र तल रहेका घरहरु समेत जोखिममा परेका छन् ।

पहरी प्रभावित क्षेत्रमा नजीकका पोष्टहरुबाट प्रहरी खटाएर क्षतीको विवरण संकलन, जोखिमको आँकलन र उद्धारमा जुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक बिर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

तस्बीर मेख गर्वुजा