रुमबासीको पिडाः ‘सडक निर्माणको ऋणले लालपुर्जा बन्धक’
- २५ असार २०७५, सोमबार
- कमल खत्री
- 3520 पटक पढिएको
म्याग्दी, २५ असार । म्याग्दीको मालिका गाउँपालिका–२ रुमका रन बहादुर हर्मेललाई हिजोआज दिनमा भोक र रातमा निन्द्रा हराएको छ । दुर्गम गाउँ रुममा सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिलाई वित्तिय संस्थाबाट ऋण लिने प्रयोजनको लागि आफ्नो लालपुर्जा दिएका हर्मेलको चार बर्षसम्म पनि आफ्नो लालपुर्जा फिर्ता नभएपछि समस्यामा परेका हुन् । मालिका गाउँपाकिलाको केन्द्र दरबाङदेखि अधिभारा हूँदै रुम गाउँसम्मको सडक सञ्जाल विस्तार गर्ने क्रममा उपभोक्ता समितिले सहकारीबाट समेत ऋण लिएर सडक खन्ने क्रममा हर्मेल सहित चार जनाको लालपुर्जा बन्धक राखिएको थियो ।
हर्मेल, चमु पुन, नन्दु पुन र भरत रोका गरि ४ जनाको जग्गा धितोमा राखेर उपभोक्ता समितिले दरबाङ बचत तथा ऋण सहकारी संस्थाबाट रु १० लाख ऋण लिएर सडक विस्तार गरेका थिए । सहकारीबाट ऋण लिएर सडक विस्तार गरेपनि समयमै ऋण चुक्ता नगर्दा ऋणको साँबा बढेर झण्डै दोब्बर पुग्न लागेको छ ।
उपभोक्ताहरुबाट चन्दा संकलन गरि उक्त ऋणलाई तिर्ने सर्तमा सहकारीमा स्थानीयको लालपुर्जा धितो राखेर ऋण लिइएको भएपनि लालपुर्जा राखेको ४ बर्ष वितिसक्दा समेत उक्त ऋण चुक्ता नगरेको कारण आफुहरु समस्यामा परेको पिडितहरुको भनाई छ । ‘‘ गाउँमा बाटो आउँदा सबै खुसी छन, हामी पनि खुसी भएका थियौँ, तर उपभोक्ता समितिले हाम्रो ऋण नतिरेको कारण सहकारीले निरन्तर ताकेता गरेको छ, समितिले समयमै ऋण नतिरे हामी सुकुम्बासी हुन्छौँ’’–पिडित हर्मेलले भन्नुभयो ।
उपभोक्ता समितिले व्यक्तिको जग्गाको लालपुर्जालाई धितो राखेर ऋण लिएपनि अहिलेसम्म व्याज रकम समेत नतिरेपछि सहकारीले लालपुर्जा धितो राखेका व्यक्तिहरुको नाममा पत्रचार गरि ताकेता गरिरहेको छ । ‘घरबारी सबैको एउटै लालपुर्जा हो मेरो, अब समितिले ऋण नतिरे मेरो घरबारी लिलामी हुन्छ, हिजो हामीले अप्ठ्यारो परिस्थितिमा सहयोग गर्दा आज सुकुम्बासी बन्ने जोखिम भयो’–पिडित हर्मेलले गुनासो गनुृभयो । तत्कालिन उपभोक्ता समितिका अध्यक्ष भरत रोकाले मोटरबाटो खन्ने क्रममा बजेट अभाब भएपछि गाउँभेला मार्फत हरेक घरधुरीबाट चन्दा उठाएर ऋण चुक्ता गर्ने निर्णय अनुरुप आफु सहित अन्य ३ जनाको जग्गालाई सहकारीमा धितो राखेर ऋण लिनुभएको थियो। सबै घरधुरीबाट नगद रु १५ हजारको दरले पैसा उठाउने र काठमाण्डौ लगायतका ठाउँमा बसोबास गर्नेहरुलाई रु ५० हजारको दरले चन्दा माग्ने निर्णय भएपनि सबै घरधुरीले पैसा नदिएको, गाउँबाहिर रहेका रुमबासीहरुबाट अपेक्षाकृत सहयोग नजुटेपछि उपभोक्ताको लालपुर्जा बन्धक राखेर लिएको ऋण तिर्न नसकिएका समितिको भनाई छ ।
सहकारीमा सुरुमा केही व्याज रकम उपभोक्ता समितिले तिरेपनि त्यसपछि कुनै पनि रकम र किस्ता नतिरेको कारण उक्त ऋण रकम अहिले बढेर रु १७ लाख ८७ हजार ८१५ पुगेको तत्कालिन दरवाङ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माले जानकारी दिनुभयो । ‘हामीले पनी समस्या बुझेका छौँ, त्यो पैसा लालपुर्जाका धनीले व्यक्तिगत काममा प्रयोग गरेका छैनन् भनेर, उनीहरु मार्फत निरन्तर ताकेता गर्दा समेत ऋणको साँवा र व्याज केही पनि आएको छैन, ताकेता गर्दा पनि अब ऋण तुक्ता नगरे कानुनी प्रकृया अनुसार अगाडी बढ्नुपर्ने बाध्यता हुन्छ’’–शर्माले भन्नुभयो । २०७० सालमा अधिभारादेखि रुमको लागि सडक विस्तार गर्न सूरु गरिएको थियो । अधिभारादेखि रुमको वडा कार्यालय र त्यहाँबाट अन्य विभिन्न टोलमा समेत गरि करिब ३० किलोमिटर लामो सडक विस्तार कार्यमा हालसम्म करिब रु २ करोड बढी लगानी भएको सडक निर्माण उपभोक्ता समितिका पूर्व अध्यक्ष कृष्ण पुनले बताउनुभयो ।
तत्कालिन साँसद विकास कोष, जिविस, गाविस लगायतका सरकारी निकायको अतिरिक्त समुदाय र स्वदेश तथा विदेशमा रहेका रुमबासीहरुबाट करिब रु ७० लाख बढी चन्दा रकम नै जुटाएर सडक निर्माण गरिएको भएपनि सडक निर्माणको क्रममा लिइएको ऋणलाई चुक्ता गर्न नसकिएको उहाँको भनाई छ । सहकारीको ऋणसंगै सडक निर्माणको क्रममा ढोरपाटन कन्ट्रक्सनलाई रु ९ लाख, कुविर कुमार श्रेष्ठलाई रु ५ लाख ३६ हजार, खिमनारायण मानन्धरलाई रु ४ लाख बढी रकम तिर्न बाँकी रहेको पूर्व अध्यक्ष पुनले जानकारी दिनुभयो। जनप्रतिनिधि विहिन समयमा गाउँलेको निर्णय बमोजिम सडक खनिएको भएपनि उपभोक्ता समिति परिवर्तन हुने र नयाँ जनप्रतिनिधिले सो समस्याप्रति उचित चासो नदिएको कारण सडक निर्माणको क्रममा लागेको ऋण तिर्न समस्या भएको स्थानीयबासीको भनाई छ । वडा अध्यक्ष नर बहादुर पुनले तत्कालिन उपभोक्ता समितिले ऋण समेत गरि सडक खनेपनि आर्थिक हिसाबकिताब फरफारक नगरेको कारण अहिले समस्या सिर्जना भएको बताउनुभयो ।
‘‘त्यतीबेला ऋण लिएर सडक खनिएकै हो, तर उपभोक्ता समितिले लिएको ऋण तिर्न वडाले जिम्मा लिन त सक्दैन,त्यसैले समितिले उठन बाँकी रहेका उपभोक्ताबाट चन्दा उठाउने र अन्य स्रोत खोजेर सो ऋणलाई चुक्ता गर्नुपर्छ’’–वडा अध्यक्ष पुनले भन्नुभयो । यता गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले समेत मोटरबाटो खन्ने कार्यमा ऋण लिन लालपुर्जा दिएकाहरुले आफुहरु समस्यामा परेको गुनासो गरेको बताउनुभयो। ‘‘ स्थानीय सरकारले उपभोक्ता समितिको ऋण तिर्न बजेट लगानी गर्न मिल्दैन, स्थानीय रुपमै स्रोत जुटाएर ऋण तिर्नुको बिकल्प छैन, हामीले स्थानीयबासीलाई सडक निर्माणकै क्रममा उक्त ऋण लागेको कारण सो ऋण तिर्न पनी हातेमालो गर्नुस भनेका छौँ’’– गाउँपालिका अध्यक्ष रोकाले भन्नुभयो ।
उहाँले तत्कालिन उपभोक्ता समितिले आर्थिक विवरण सार्वजनिक गरि पुन वडाका जनप्रतिनिधिको समन्वयमा गाउँभेला मार्फत सडक विस्तारको क्रममा लागेको ऋणलाई चुक्ता गर्न गाउँबाटै स्रोतको खोजी गर्न आग्रह गरिएको समेत जानकारी दिनुभयो । गत बर्ष मात्रै उद्घाटन गरिएको सो सडकमा हिउँदको याममा मात्रै सवारी साधन सञ्चालन हुने गरेको छ । अधिभारा हुँदै रुमको टोल स्तरमा समेत विस्तार गरिएको उक्त सडकलाई वडा कार्यालयले बिलबाङ हुँदै छिमेकी वडा निस्कोट, खबाङ हुँदै बागलुङको ताराखोला र रुम–जेम–पात्ले–सोलेडाँडा हुँदै बागलुङको तमान जोड्ने योजना अघि सारेको छ ।
कमल खत्री
म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l